खेल

यू-१९ एसिया कप क्रिकेटः नेपालको लगातार दोस्रो हार

अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।  

युएईको दुबई क्रिकेट रंगशालामा नेपाल आइतबार बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । बंगलादेशको भने यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।  

नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । युवराज खत्रीले चार विकेट लिएपनि नेपालको हार भने टार्न सकेनन् ।

इनिङ्सको पहिलो ओभरमै क्याप्टेन हेमन्त धामीले कलम सिद्धिकीलाई शुन्य रनमा आउट गरेर नेपालको आशा जगाएका थिए । तर दोस्रो विकेटका लागि नेपालले २०औं ओभरसम्म कुर्नु परेको थियो । युवराज खत्रीले १९.१ मा ओपनर जवाद अब्रारलाई ५९ र १९.२ ओभरमा मोहमद सिहाब जेम्सलाई गोल्डेन डक आउट गरे । युवराजले नै २८औं ओभरको पाँचौ र छैठौं बलमा फरिद हसनलाई १३ र रिजन होसनलाई शुन्य रनमा पबेलियनको बाटो देखाए । अजिजुल हाकिम ५२ रनमा अविजित रहे ।  

यसअघि पहिला ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमा अलआउट भएको थियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम मगरले २९ रन बनाउँदा अभिषेक तिवारी २९ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बंगलादेशका बलरले १७ रन अतिरिक्त दिएका थिए ।  

नेपाललाई सस्तैमा समेट्न अल फहाद, रिजन होसेन र एक्वाल होसेनले समान २ विकेट लिए । साद इस्लाम, मोहमद रफी उज्मान र अजिजुल हाकिमको नाममा समान एकएक विकेट रह्यो ।  

नेपालले अर्को खेलमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।  

आइतबार नै भएको अर्को खेलमा श्रीलंकाले अफगानिस्तानलाई १३१ रनले पराजित गर्‍यो । 

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्। भारत, पाकिस्तान, जापान र युएई समूह ‘ए’मा छन्।

प्रकाशित: १६ मंसिर २०८१ १६:५५ आइतबार

#Nepal_Bangladesh #U-19 Asia Cup Cricket