खेल

तस्बिरमा कीर्तिपुर क्रिकेट क्रेज

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलले नेपाली क्रिकेटप्रेमीहरूलाई रोमाञ्चित बनायो।

१२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमै मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। लाहिरू मिलन्थाले अविजित ७५ रनको इनिङ खेल्दै जनकपुरको जितमा महत्त्वपूर्ण भूमिका खेले। उनले ५३ बलमा ९ चौका र ३ छक्कासहित उत्कृष्ट प्रदर्शन गरे। क्यानडाका हर्ष ठाकरले पनि अविजित २९ रन जोडे।

पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा समेटियो। न्युजिल्यान्डका स्टार खेलाडी मार्टिन गप्टिलले ५५ रन बनाएर विराटनगरलाई सम्मानजनक स्कोरमा पुर्‍याए। उनले ७ चौका र १ छक्का प्रहार गरे। तर, अन्य ब्याटरहरूको प्रदर्शन कमजोर रह्यो।

कीर्तिपुर मैदानमा एनपिएलको पहिलो खेल हेर्न पुगेका समर्थकहरूले क्रिकेटको जोश र माहोललाई अझ रोमाञ्चक बनाए। मैदानभरि दर्शकहरूको उत्साह चर्को देखिएको थियो।

तस्बिरहरु : अनिल मल्ल ठकुरी/नागरिक, राष्ट्रिय समाचार समिति (रासस), न्युज एजेन्सी नेपाल

प्रकाशित: १५ मंसिर २०८१ १५:४३ शनिबार