खेल

बहुप्रतीक्षित एनपिएल आजबाट

विश्व क्रिकेटका चर्चित शिखर धवन, मार्टिन गप्टिल र रभि बोपरा, बेन कटिङ र सोहेल तनभिरजस्ता क्रिकेटरले खेल्ने बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि सुरु हुँदै छ।

आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने एनपिएलको पहिलो संस्करणको उद्घाटनमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दै छन्। करोडौंमा फ्रेन्चाइज टोली खरिद, उक्त टोलीले विदेशका चर्चित क्रिकेटर अनुबन्धित र चर्चित अन्तर्राष्ट्रिय ब्रोडकास्टरको प्रत्यक्ष प्रसारण एनपिएलको आकर्षक पक्ष हो। त्यसैले पनि नेपाली क्रिकेट समर्थकका लागि एनपिएल बहुप्रतीक्षित हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (टियु) मा मध्याह्न १२:१५ मा खेल सुरु हुँदै छ। विश्वका हरेक फ्रेन्चाइज लिग खेलिसकेका सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किङ्स खेल्दै छ।  

यता, जनकपुर बोल्ट्सका कप्तान भने ब्याट्सम्यान अनिल साह हुन्। जनकपुरको मार्की खेलाडी आसिफ शेख हुन्। तर, जनकपुरले अनुभवी र सिनियर खेलाडी अनिलकुमार साहलाई कप्तानी जिम्मेवारी दिएको हो। उद्घाटन खेलमा जनकपुर र विराटनगर दुवै जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छन्। यी दुवै टोलीसँग अनुभवी विदेशी क्रिकेटर र घरेलु स्टार छन्। विराटनगर किङ्सले न्युजिल्यान्डका ब्याट्सम्यान मार्टिन गप्टिल, ओमानका अलराउन्डर अकिब इलियास, स्कटल्यान्डका फास्ट बलर क्रिस सोल, क्यानडाका निकोलस किर्तन र अफगानिस्तानका अलराउन्डर इस्मात अलामलाई अनुबन्धित गरेको छ। तर, अफगानिस्तान इस्मात शनिबार मात्र नेपाल आइपुग्नेछन्, त्यसैले उनी खेल्ने सम्भावना न्यून छ।  

यसबाहेक विराटनगरसँग राष्ट्रिय टोलीका प्रतीश जिसी, आक्रामक ब्याटर लोकेश बम, अनुभवी राजेश पुलामीमगर र जितेन्द्र मुखियाका साथै युवा क्रिकेटर नरेन भट्ट छन्। यद्यपि, नरेन यु–१९ एसिया कप खेल्न युएईमा रहेका छन्। त्यसैले उनले पनि पहिलो खेल गुमाउनेछन्। तर पनि बलिङ र ब्याटिङ दुवैमा राम्रो विकल्प रहेको विराटनगर सन्तुलित देखिएको छ। विराटनगरका प्रशिक्षक आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन हुन्। अनुभवी प्रशिक्षकको साथ पाएको विराटनगरले राम्रो प्रदर्शन गर्न सक्नेछ। त्यसैले जनकपुर र विराटनगरबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

जनकपुर बोल्ट्सले पनि न्युजिल्यान्डका चर्चित स्टार जिमी निसमलाई टोलीमा भित्रायाएको थियो। तर, उनी पनि पहिलो खेलमा उपलब्ध हुने छैनन्। हाल युइर्एमा आबुधाबी टी टेन खेलिरहेकाले निसमले पनि पहिलो खेल गुमाउनेछन्। त्यसैले पहिलो खेलमा जनकपुरले अनुभवी अलराउन्डरबिना नै खेल्नुपर्नेछ। उनी पनि युएईबाट शनिबार मात्र आउने जनकपुरका प्रतिनिधिले जानकारी दिए। नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको जनकपुरसँग क्यानडाका हर्ष ठाकर, इङ्ल्यान्डका बेन माइक, अमेरिकाका तीन खेलाडी जसुअ ट्रम्प, लाहिरू मिलन्था र मोहम्मद महसिन छन्।  

बेनबाहेक यी विदेशी क्रिकेटरले नियमित रूपमा आफ्नो देशबाट खेल्दै आएका छन्। यो टोलीमा ओपनर आसिफ सेख, स्पिनर ललित राजवंशी, ब्याटर अरनिको यादव र बलर किशोर महतोजस्ता अनुभवी खेलाडी छन्। जनकपुरले पहिलो खेलमा हेमन्त धामी जस्ता युवा क्रिकेटरको साथ पाउने छैन। उनी नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान हुन्, जो अहिले एसिसी यु–१९ एसिया कप खेल्न युएईमा छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा लेग स्पिनरसमेत रहेका सन्दीपले पहिलो खेलमा जित निकाल्ने लक्ष्यका साथ उत्रने पनि बताए।

ग्लोबल स्टारको छबि बनाएका विराटनगरका कप्तान सन्दीपले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना रहँदै आएको र जुन अहिले पूरा भएको बताए। साथै उनले यसअघि नेपालमा भएका फ्रेन्चाइज क्रिकेटको योगदान पनि भुल्न नहुने उल्लेख गरे। जनकपुरका कप्तान अनिल केही दिन काठमाडौंमा तयारीसँगै अभ्यास खेल खेलेको र टोली सन्तुलित रहेको बताउँछन्। कप्तान अनिलले आसिफकै सल्लाहपछि आफू कप्तान बनेको स्पष्ट पारे। शुक्रबार पत्रकार सम्मेलनमा यी दुईबाहेक अन्य फ्रेन्चाइज टोलीका कप्तानले पनि पहिलो संस्करणका खेलका लागि आफूहरु उत्साहित रहेको धारणा राखे।

उनीहरू एनपिएल आयोजना हुनु एक्सपोजरको राम्रो माध्यम रहेको र जहाँ आफूहरूले खेल्न उत्साहित रहेको धारणा राखे। कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्यतासँगै शिखर धवन र बाबर हायातजस्ता स्टारको साथले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले करिब ६/७ दिनको तयारी गरेको र आफ्नो टोली पनि सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। साथै उनले देशमा एनपिएल आयोजनालाई लिएर राम्रो माहोल बनेको र भविष्यमा यसले छुट्टै उचाइ लिने धारणा राखेका छन्। अन्तर्राष्ट्रिय ब्रोडकास्टर र अनुभवी खेलाडीको आगमनले एनपिएललाई नयाँ उचाइमा पुर्‍याउने उनको विश्वास थियो।  

काठमाडौं गुर्खाजका कप्तान करण केसीले यो एनपिएल युवा खेलाडीहरूलाई आफ्नो ट्यालेन्ट देखाउने राम्रो माध्यम बन्ने विश्वास व्यक्त गरे। साथै उनले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको पनि बताए। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी राम्रो भएको र १/२ वटा अभ्यास खेल पनि खेलेकाले राम्रो प्रदर्शन गर्ने बताए। साथै उनले एनपिएललाई लिएर सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे। चितवन राइनोजका कप्तान कुशल मल्लले आफूहरू खेलका लागि उत्साहित रहेको बताए। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पोखरामा नै ८/९ दिन अभ्यास गरेको बताए।

साथै उनले अभ्यास खेलमा पनि राम्रो भएको र खेलका लागि सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे। सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको आयोजनासँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे। आगामी पुस ६ गतेसम्म हुने एनपिएलमा कुल ३२ खेल सञ्चालन हुनेछन्। यस एनपिएलमा ४० विदेशी क्रिकेटर र पाँच विदेशी प्रशिक्षक छन्। इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली चेन्नई सुपर किङ्समा प्रशिक्षण गरेका राजीव कुमार पोखरा एभेन्जर्सको प्रशिक्षणमा छन्।

‘नेपाली खेलाडीसँग खेल्न उत्साहित’

भारतीय क्रिकेट टोलीका पूर्वसदस्य एवम् कर्णाली याक्सका क्रिकेटर शिखर धवनले एनपिएल र नेपालका खेलाडीसँग खेल्न उत्साहित रहेको बताएका छन्। एनपिएल खेल्न शुक्रबार नेपाल आइपुगेका शिखर धवनले अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आफू नेपाली क्रिकेटरहरूसँग खेल्न उत्साहित रहेको बताएका हुन्। नेपालसँग आफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपिएल खेल्न आफू तयार भएको उनको भनाइ छ। उनले एनपिएलमा राम्रो अन्तर्राष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम सेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे। उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा राम्रो गरिरहेको उल्लेख गर्दै सबै टिकट बिक्री हुनुले पनि यहाँको क्रिकेट अवस्थाबारे दर्साउने बताए। अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ।  

नेपालका तीन प्रशिक्षक वसन्त शाहीले काठमाडौं गुर्खाज, ज्ञानेन्द्र मल्लले कर्णाली याक्स, जगत टमटाले सुदूरपश्चिम रोयल्सको प्रशिक्षण गर्नेछन्। नेपाली टोलीको प्रशिक्षणमा रहेका नन्दन फडनिसले लुम्बिनी लायन्स प्रशिक्षण गरेका छन्। एनपिएलको सबैभन्दा महंगो मूल्य (तीन करोड ५७ लाख) मा फ्रेन्चाइज किनेको टोली पोखरा एभेन्जर्स हो। सबैभन्दा कम मूल्य ( एक कारेड ११ लाख) मा कर्णाली याक्स ले फ्रेन्चाइज किनेको हो।  

प्रकाशित: १५ मंसिर २०८१ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App