खेल

खेल क्षेत्र राष्ट्रको इज्जत : एमालेका सचिव पद्मा अर्याल

<br>

नेकपा (एमाले)का सचिव पद्मा अर्यालले खेल क्षेत्र राष्ट्रको इज्जत भएको बताएकी छिन्।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०८१ का अवसरमा सोमवार आयोजना गरेको ‘खेलकुदमा लैङ्गिक न्याय’ विषयक अन्तरक्रियामा उनले खेल क्षेत्रका समस्या समाधान गर्नुपर्ने बताएकी हुन।

“महिला खेलाडीहरु आज युरोपको मैदानमा खेलिरहेका छन्, राष्ट्रका लागि यो गौरवको विषय हो”,सचिव अर्यालले भनिन, “खेल क्षेत्रमा देखिएका समस्या सरकारले समाधान गर्न सक्छ, खेलाडीको बीमा, पुरस्कार र सम्मान कार्यक्रम सरकारले सुरु गरिसकेको छ ।”

महिला खेलाडीलाई आर्थिक र घर व्यवहार मिलाएर खेल खेल्न कठिनाई हुँदाहुँदै पनि व्यवसायिक दक्षता हासिल गरी राम्रो खेल प्रदर्शन गर्नु महत्वपूर्ण भएको उनको भनाइ छ। मुलुकको व्यवस्था परिर्वतनमा महिलाको अतुलनीय भूमिका रहेको उहाँले स्मरण गराइन।

कार्यक्रममा रेफ्री चन्द्रबन्दना राईले महिला खेलाडीले आफ्नो दक्षता ऊर्जागर गर्ने वातावरण एकदमै कम भएको र विवाह गरेपछि खेल क्षेत्रलाई निरन्तरता दिन नसकेको अनुभव सुनाइन। पहिलो महिला रेस्लर भगवती खड्का, सीता भण्डारी, रजनी श्रेष्ठ, सारदा धिताललगायतले खुलकुद क्षेत्रमा महिलालाई प्रोत्साहन गर्नुपर्ने र त्यसका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिए।

अनेम सङ्घका अध्यक्ष टुकाभद्र हमालले महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘महिला हिंसाविरुद्ध सँगसँगै’ भन्ने नाराका साथ महिलाविरुद्ध हुने हिंसा निवारणमा समाजका हरेक तह र तप्काका व्यक्ति वा संस्थाहरु एकतावद्ध हुनुपर्ने बताइन।

सो अवसरमा महिला खेलाडीलाई एमाले सचिव अर्यालले जर्सी प्रदान गरी सम्मान गरेकी थिइन। 

प्रकाशित: १० मंसिर २०८१ १९:४१ सोमबार

#CPN (UML) #Padma Aryal #All Nepal Women's Association (ANMA) #16 Days of Activism Against Gender-Based Violence