खेल

डर्टमन्डद्वारा स्टुटगार्ट पराजित

बर्लिन – क्रिस्टियन पुलिसिकको गोलप्रेरित बोरुसिया डर्टमन्डले आइतबार स्टुटगार्टलाई ३–० ले पराजित गर्र्दै बुन्डेलिगामा दोस्रो स्थानको साल्केसँगको अंकदूरी कम गरेको छ।

 घरेलु मैदानमा आइतबार जित निकालेको डर्टमन्ड शनिबार ह्यामबर्गसँग ३–२ को अप्रत्याशित हार बेहोरेको साल्केभन्दा एक अंकले पछि छ।

अंकतालिको नवौं स्थानमा रहेको पाहुना टोली स्टुटगार्टमाथि डर्टमन्डले एकतर्फी खेल प्रस्तुत गरेको थियो ।
३८औं मिनेटमा स्टुटगार्टका गोलकिपर रोन–रोबर्ट जेइलरले पन्च गर्दै बचाएको रिबाउन्ड बललाई पुलिसिकले उत्कृष्ट गोलमा परिणत गरेका थिए । पुलिसिकको उक्त गोलले नै डर्टमन्डले पहिलो हाफमा अग्रता बनाएको थियो।
तर दोस्रो हाफमा डर्टमन्ड पूरै हाबी बन्दै पाहुना टोलीमाथि थप दुई गोल गर्यो।

यसै वर्षको अन्तिममा चेल्सीबाट डर्टमन्डमा अनुबन्धित बेल्जियमका स्ट्राइकर मिचे बात्सुयीले ४८औं मिनेटमा नुरी सहिनले पेनाल्टी बक्सभित्र दिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै टिमका लागि अग्रता दोब्बर पारेका थिए ।
यस्तै, खेलको ५९औं मिनेटमा पुलिसिकले दिएको हेड पासलाई म्याक्सिमिलियन फिलिपले गोल गर्दै अग्रता तेब्बबर बनाएका थिए।

जारी सिजनको नोभेम्बरयता फिलिप डर्टमन्डका लागि पहिलो गोल गर्न सफल भएका छन् । यसअघि स्टुटगार्टलाई नै पराजित गर्दा उनले एक गोल गरेका थिए । उक्त खेलमा डर्टमन्ड २–१ ले विजयी भएको थियो । जनवरीपछि लिगमा आएका बात्सुयीले ९ लिग खेलमा सातौं गोल गरे।

स्टुटगार्टका मारियो गोमेजले खेल सकिन पाँच मिनेटअघि प्रहार गरेको बल बारमा लागेर बाहिरिएको थियो । बाँकी समयमा स्टुटगार्टले प्रयास गरे पनि गोल गर्न सकेन र पराजित भयो । जितपछि डर्टमन्डको जारी सिजनमा शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बनेको छ।

‘हाम्रो लक्ष्य च्याम्पियन्स लिगमा स्थान बनाउने हो, तर हामी लिगमा दोस्रो हुँदै लिग अन्त्य गर्ने उद्देश्यमा छौं’, डर्टमन्डका स्ट्राइकर नुरी सहिनले भने । जितपछि चौथो स्थानमा पुगेको डर्टमन्डको २९ खेलबाट ५१ अंक भएको छ भने पराजित नवौं स्थानको स्टुटगार्टको २९ खेलबाट ३८ अंक भएको छ।

यस्तै, आइतबार  राति नै भएको अर्को खेलमा चौथो स्थानमा रहेको इन्ट्य्राक्ट फ्य्रांकफर्टले साताैं स्थानको होफेनहेइमसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । फ्य्रांकफर्टले होफेनहेइमसँग बराबरी खेल्दा आरबी लिपजिगसँगको अंकदूरी बढाउने मौका गुमायो।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४८औं मिनेटमा मरिस बोल्टको पासमा लुका जोभिकले गोल गर्दै फ्य्रांकफर्टका लागि अग्रता दिलाए पनि ५६आैं मिनेटमा होफेनहेइमका सर्जे ग्नाब्रेले मार्क उथको पासमा बराबरी गोल फर्काएका थिए।

बराबरीपछि फ्य्रांकफर्ट २९ खेलबाट ४६ अंक जोड्दै तालिकाको चौथो छ भने होफेनहेइम ४३ अंक जोडेर सातौं स्थानमा छ।

प्रकाशित: २७ चैत्र २०७४ ०५:०६ मंगलबार

डर्टमन्डद्वारा स्टुटगार्ट पराजित