खेल

आयोजक भ्याली पब्लिकको विजयी सुरुआत

भ्याली पब्लिक स्कुलले १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

आयोजक भ्याली पब्लिकले शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज गरी तीन विधामा सुखद सुरुआत गरेको हो। सिनियर ब्वाइजमा भ्याली पब्लिकले जागृतिलाई ३०–१९, बागमतीले स्कोलर्स होमलाई ४८–३३, मोक्षदाले रिलायन्सलाई ४२–३२, हिमालय बोर्डिङले एचएचसिएलाई ४१–३७, हेराल्डले अपीलाई २५–१७ र गेट्वेले जेबी स्कुललाई ४७–३४ ले पराजित गरे।

सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले बागमतीलाई ३०–१०, क्यान्भासले अपीलाई १४–९, टिआइएले एक्टिभलाई २७–१६, केभिकेएसएसले प्रारम्भलाई २०–१६ र फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१५ ले हराए।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले ह्वाइट माउन्टेनलाई ३३–२२, अपीले नयु एरालाई १३–७, ग्रिनफिल्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २६–३, पारामाउन्टले स्किब्सलाई १७–१२, ग्रिनल्यान्डले एन्जल्स किड्सलाई २८–४, ग्रिन लाउन्सले क्यान्भासलाई ३७–४, इबिएले अपीलाई ३२–१७ र बिएमसिएले शिक्षालयलाई २९–२६ ले पाखा लगाए।

भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सहसंस्थापक सुनीता अधिकारी र भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे।

 प्रतियोगिताको सिनियर ब्वाइज र जुनियरमा समान ३२÷३२ तथा सिनियर गल्र्समा २० गरी ८४ टोली सहभागी छन्। तीनै समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले क्रमशः २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता मंसिर १६ गतेसम्म चल्नेछ।

प्रकाशित: ८ मंसिर २०८१ ०७:१३ शनिबार

#Valley Public School #A winning start