नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले क्यानेडेली क्रिकेटर साद बिन जफरलाई अनुबन्धित गरेको छ।
गएको ट्वेन्टी ट्वेन्टी विश्वकपमा पनि जफरले क्यानडाको कप्तानी गरेका थिए। लुम्बिनी लायन्सले लामो समयदेखि क्यानडाबाट खेल्दै आएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्वक्षमतासहित थप मजबुत बनाउने आशा लिँदै उनलाई टोलीमा भित्र्याएको हो। उनी पाकिस्तानमा जन्मिएका हुन्। तर, साद बिन जफरको क्रिकेट करियर भने क्यानडामा बितेको छ।
सन् २००८ मा उनले क्यानडाको फस्र्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए। जफरले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन्। बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङका कारण उनले मैदानमा आफ्नो प्रभाव छाड्ने गरेका छन्। उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि सेन्ट लुसिया जोक्सबाट खेलेका छन्। ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनको नाममा कीर्तिमान छ।
चार ओभरको बलिङमा एक रन पनि नदिई उनले कीर्तिमान बनाएका हुन्। सन् २०२१ को नोभेम्बरमा पानामाविरुद्ध उनले चार ओभरमा दुई विकेट लिएका थिए। यस क्रममा उनले एक रन पनि दिएनन्, जुन उपलब्धि अहिलेसम्म अपराजित छ। उनले एनपिएलका लागि लुम्बिनी लायन्समा आबद्ध हुन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। ‘लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा अत्यन्तै उत्साहित छु। अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान पु¥याउन चाहन्छु,’ उनले भने।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले जफरलाई समावेश गर्न पाउँदा धेरै खुसी मिलेको र टोली थप बलियो बनेको विश्वास व्यक्त गरे। ‘साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई लुम्बिनीको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौं। उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले टोलीलाई थप बलियो बन्नेछ,’ उनले भने। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग खेल्नेछ। त्यसअघि एनपिएल मंसिर १५ देखि सुरु हुनेछ।
प्रकाशित: ७ मंसिर २०८१ ०९:४७ शुक्रबार