खेल

काठमाडौं गुर्खाजमा सोउटर

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले अनुभवी इङ्लिस लेग स्पिनर नाथन सोउटरलाई टोलीमा अनुबन्धित गरेको छ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजले पाँचौं विदेशी खेलाडी भित्र्याएको हो। काठमाडौंमा भित्रने उनी तेस्रो इङ्लिस खेलाडी हुन्। यसअघि दुई इङ्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई काठमाडौंले अनुबन्धित गरिसकेको छ। काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई टोलीमा भित्र्याइसकेको छ। काठमाडौंको पाँचौं विदेशी खेलाडीका रूपमा भित्रिएका सोउटर किफायती र कलात्मक बलिङ गर्ने क्षमता राख्छन्।

काठमाडौं गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले सोउटरको आगमनले टोली बलियो बनेको बताए। अस्ट्रेलियामा जन्मिएका सोउटरसँग द हन्ड्रेड्स, भाइटालिटी ब्लास्ट, क्यारेबियन प्रिमियर लिग, इन्टरनेसनल लिग टी–२० खेलको अनुभव छ। काठमाडौं गुर्खाजले आफ्नो जर्सी सार्वजनिक गर्दै आफ्नो क्रिकेट एम्बासडरमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई घोषणा गरिसकेको छ। काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टिम  प्रवर्दधकमा पूर्व मिस नेपाल शृंखला खतिवडा छन्।

काठमाडौं गुर्खाजले अक्सनबाट साहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई समावेश गरेको छ। गत शनिबार भएको ट्यालेन्ट हन्टबाट काठमाडौं गुर्खाजले क्रिस कार्कीलाई आइकोनिक खेलाडीका रूपमा लिएको थियो। काठमान्डु गुर्खाजको प्रमुख प्रायोजकमा बिवाइडी मोटर रहेको छ। टोलीका प्रवर्दधकले बिवाइडी मोटरका प्रतिनिधित्वलाई काठमाडौं गुर्खाजका प्रवर्दधकहरूले बिवाइडी नेपालका प्रमुख अनिल श्रेष्ठ र यमुना श्रेष्ठलाई स्वागत गरेका थिए। काठमान्डु गुर्खाजले एनपिएलमा आफ्नो जर्सीमा बिवाइडीका लोगो लगाएर खेल्नेछ।  

प्रकाशित: ५ मंसिर २०८१ ०७:३७ बुधबार

#Cricketer Dipendra Singh Airi