खेल

रोड्रिगोलाई सात खेलको प्रतिबन्ध

टोटनह्यामका रोड्रिगो बेन्टानकुरलाई सोमबार फुटबल एसोसिएसन (एफए) ले एक अन्तर्वार्तामा टोलीका सहकर्मी सन ह्युङ–मिनबारे जातिवादी टिप्पणी गरेको भन्दै सात खेलको प्रतिबन्ध लगाएको छ।

मिडफिल्डर बेन्टानकुरलाई एफएले सेप्टेम्बरमा आफ्नो देश उरुग्वेमा दिएको अन्तर्वार्ताका क्रममा नियम उल्लंघन गरेको आरोपमा लगाएको हो। योसँगै युभेन्ट्सका पूर्वखेलाडीलाई एक लाख पाउन्ड जरिवाना पनि तिनुपर्नेछ। टेलिभिजनका एक प्रस्तुतकर्ताले टोटनह्यामका खेलाडीको जर्सीबारे प्रश्न सोधेका थिए। उनले जबाफ दिए, ‘सोनीको? यो जर्सी सोनीको काकाको पनि हुन सक्छ। किनकि उनीहरू सबै उस्तै देखिन्छन् !’

२७ वर्षीय बेन्टानकुरले दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फरवार्ड सनसँग माफी पनि मागेका थिए। टोटनह्यामको अर्को सातादेखि खेल्ने खेल बेन्टानकुरले गुमाउनेछन्। यद्यपि उसले रोमा र रेन्जर्सविरुद्धको युरोपा लिग खेल भने खेल्न पाउनेछन्।

बेन्टानकुरले सुरुमा यो आरोप अस्वीकार गरेका थिए। तर, स्वतन्त्र नियामक आयोगले उनले नियम उल्लंघन गरेको प्रमाणित गरेको हो। सुनुवाईपछि उनलाई प्रतिबन्ध लगाइएको जनाइएको छ। सेप्टेम्बरको अन्त्यमा बोल्दै सनले भनेका थिए,‘ म बिदा बनाउन घर फर्किएको थिएँ। उनले सीधै माफी मागेका थिए। के भइरहेको छ, मलाई थाहा पनि थिएन। उसले मलाई लामो सन्देश पठाएका थिए।’

बेन्टानकुरले आफ्नो गल्ती स्वीकार गरेका कारण उनलाई छुट दिनुपर्ने टोटनह्यामका मुख्य प्रशिक्षक एन्जे पोस्टेकोग्लोले बताएका छन्। तर, एफए उनलाई छुट दिने मुडमा देखिएको छैन।

यो प्रतिबन्धसँगै उनले म्यानचेस्टर सिटी, चेल्सी, फुलह्याम, बर्नमाउथ, साउथह्याम्पटन र लिभरपुलसँगको प्रिमियर लिगका खेलसँगै म्यानचेस्टर युनाइटेडविरुद्धको लिग कप क्वार्टरफाइनल गुमाउनेछन्। उनको प्रतिबन्ध डिसेम्बर २६ सम्म कायम रहने एफएले जनाएको छ। त्यसपछि उनी घरेलु खेलमा फर्किन पाउनेछन्।

यो सिजन उनले टोटनह्यामका लागि १५ खेल खेलेका छन्। जसमा एक गोल आफ्नो खातामा टिपाएका छन्। टोटनह्यामले प्रिमियर लिगमा यस सिजन संघर्ष गरिरहेको छ। ११ खेल खेलेको टोली पाँच जित, पाँच हार र एक बराबरीसहित १० अंक बटुल्दै १०औं स्थानमा छ।

प्रकाशित: ४ मंसिर २०८१ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App