खेल

संकटाको उत्कृष्ट लय यथावत्

संकटा फुटबल क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा नहारेको पनि ठ्याक्कै ६ खेल भइसकेको थियो। तर, उत्कृष्ट लयको सिलसिला जारी रहँदै गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बीचमै लिग रोक्दियो। करिब दुई महिना लिग रोकिँदा खेलाडीलाई मात्रै असर गरेन, मनाङ मस्र्याङ्दी फुटबल क्लब र न्युरोड टिम (एनआरटी) जस्ता उत्कृष्ट लयमा रहेका टोलीसमेत खस्किएर आए। तर, संकटाले भने त्यही उत्कृष्ट लयलाई निरन्तरता दिने संकेत देखाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा संकटाले लिगको पुछारमा रहेको खुमलटार फुटबल क्लबमाथि ६–३ को जित हात पारेको हो। अघिल्लो खेलमा विभागीय टोलीमाथि ६–० को नतिजा निकाल्दै पहिलो चरण सक्काएको संकटाको लिगमा यो चौथो जित हो। यससँगै चौथो स्थानमा उक्लिएको संकटाले गोलअन्तरमा मच्छिन्द्र फुटबल क्लबलाई उछिनेको छ। दुवैको अंक समान रहे पनि संकटा नौ गोलले अघि छ। खुमलटारको भने यो आठौं हार हो। एक खेल मात्रै जितेको खुमलटार तीन अंकसहित १२ टोली सहभागी लिगको अंक तालिकामा पुछारमा छ।

सुरुआतदेखि नै आक्रामक देखिए पनि संकटा खेलको ४०औं मिनेटमा मात्रै अग्रता लिन सफल भयो। कृष्णबहादुर आलेले करिब ३० यार्डबाट प्रहार गरेको फ्रिकक बललाई बचाउन खुमलटारका गोलकिपर सुरजप्रसाद साहले प्रयास गरेका थिए। तर, उनी सफल हुन सकेनन्।

पहिलो हाफमा एक गोल मात्रै भएको खेलको दोस्रो हाफमा भने आठ गोल सम्भव भयो। ५३औं मिनेटमा मनीष थापामगरले पेनाल्टी बक्सनजिकबाट प्रहार गरेको बल सुरजको हातमा लाग्दै गोलमा परिणत भयो। त्यसको सात मिनेटपछि नै दिवस राईले खाली पोस्टमा अर्को गोल थप्दै संकटाको अग्रता ३–० मा पुर्‍याए।

लगत्तै सागर तामाङले गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यसको ६ मिनेटपछि संकटाका खेलाडीलाई रोक्ने प्रयास गर्दा विवेक बागदासले आफ्नै पोस्टमा बललाई छिराएसँगै खुमलटार खेलमा ४–१ ले पछि पर्‍यो। त्यसपछि जंगे रायमाझीले खुमलटारका लागि दुई गोल थपे। तर, कृष्ण र सविन महर्जनलाई डिफेन्सले रोक्न नसक्दा खुमलटार ६–३ को हार बेहोर्न बाध्य भयो।

शुक्रबार नै भएको अर्को खेलमा एपिएफले थ्री स्टार क्लबमाथि २–१ को पुनरागमन जित हात पारेको छ। कप्तान महेश दर्नालले खेलको दोस्रो मिनेटमै फ्रिकिकमार्फत गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए। तर, टोलीले उक्त अग्रता ११ मिनेटभन्दा बढी टिकाउन सकेन। १३औं मिनेटमा सुनिल थिङले थ्री स्टारका दुई डिफेन्डरलाई छक्क्याउँदै खेल बराबरीमा ल्याए। एक समय १–१ को बराबरीमा टुंगिने अवस्थामा पुगिसकेको खेलमा एपिएफलाई जित दिलाउन किशोर गुरुङले गरेको गोल निर्णायक बन्यो। लामो क्रसमार्फत आएको बललाई थ्री स्टारका कप्तान महेशले रोक्न नसक्दा किशोरले सहजै गोल गरे।

जितसँगै आठौं स्थानमा यथावत् रहेको एपिएफले नौ खेलबाट ११ अंक पुर्‍याएको छ। समान खेलबाट दुई अंक जोडेको थ्री स्टार छैटौं स्थानमा छ।

प्रकाशित: १ मंसिर २०८१ ०६:३२ शनिबार

# Sankata's excellent rhythm remains intact