नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आगामी आइसिसी यु–१९ महिला विश्वकप र एसिया कपमा आफ्नो टोली थप बलियो भएर आउने बताएकी छिन्।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार सम्पन्न छनोटबाट मलेसियामा हुने विश्वकपसँगै एसिया कपमा स्थान बनाएको थियो। बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीकी कप्तान पूजाले आगामी विश्वकप र एसिया कपका लागि आफ्नो टोली बलियो बनेर आउने विश्वास व्यक्त गरेकी हुन्। ‘महिला क्रिकेटमा इतिहास बनाउनु म र मेरा टोलीका लागि यो गर्विलो क्षण हो। अब विश्वकप र एसिया कप खेल्दै छौं। आशा छ, अहिलेको भन्दा बलियो टोली भएर विश्वकप र एसिया कप खेल्नेछौं,’ कप्तान पूजाले भनिन्।
चार राष्ट्र सम्मिलित डबल राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै नेपाल विश्वकपसँगै एसिया कपमा स्थान बनाउन सफल भएको थियो । यससँगै नेपाली महिला टोलीले पनि विश्वकप खेल्ने भएको हो। कप्तान पूजाले देशको लागि महिला क्रिकेटमा नयाँ इतिहास कायम गर्नु गर्वको क्षणको रहेको र त्यसलाई शब्दमा बयान गर्न नसक्ने प्रतिक्रिया दिइन्। साथै कप्तान पूजा र प्रशिक्षक महेशप्रसाद रिजालले छनोटअगाडि दिल्लीमा भएको क्याम्पले आफ्नो टोलीका लागि मद्दत मिलेको धारणा राखे।
नेपालले सन् २०२५ को जनवरी २ देखि फेब्रुअरी १८ सम्म मलेसियामा हुने आइसिसी यु–१९ महिला विश्वकप खेल्नेछ । त्यसको तयारी स्वरूप हुने एसिया कपमा पनि नेपालले प्रतिस्पर्धा गर्दै छ । नेपाली महिला क्रिकेटले पनि पहिलोपल्ट विश्वकप र एसिया कपमा स्थान बनाउँदै इतिहास बनाएको छ।
कप्तान पूजाले एसिया कप र विश्वकप खेल्नु नेपाली टोलीको लागि सबैभन्दा ठूलो अवसर रहेको पनि प्रतिक्रिया दिइन् । यसले नेपालको महिला क्रिकेटलाई नै नयाँ उचाइमा लाने उनको विश्वास छ।
उपकप्तान सोनी पाख्रिनको बलियो साथले पनि शतक बनाउन सम्भव भएको पूजाले प्रतिक्रिया दिइन्। जुन नेपाली महिला क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमा प्रहार गरेको दोस्रो शतक पनि हो । यसअघि रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध शतक प्रहार गरेकी थिइन् । उपकप्तान सोनी पाख्रिनले सबैको लक्ष्य विश्वकपमा छनोट हुने रहेको र त्यहीअनुरूप सबैले धेरै मिहिनेत गरेको बताएकी छन्।
राम्रो क्रिकेट खेल्यौं भने विश्वकपमा छनोट हुने सबैको विश्वास रहेको र त्यहीअनुरूपमा युएईविरुद्ध खेल्दा सफलता मिलेको उपकप्तान सोनीको भनाइ छ। ‘सबैको लक्ष्य नै विश्वकप खेल्न सक्छौं भन्ने आत्मविश्वास थियो। टोलीका कोचिङ स्टाफ र हामीलाई राम्रो क्रिकेट खेल्यौं भने छनोट हुन्छौं भन्ने विश्वास थियो। युएई र हामीबीच बलियो प्रतिस्पर्धा पनि भयो। उसैको मैदानमा युएईका समर्थकका माझ हराउन पाउँदा हाम्रा लागि त्यो खुसीको क्षण हो,’ उपकप्तान सोनीले भनिन्।
उनले यो सफलता प्राप्त गर्नु गर्विलो क्षण रहेको सोनीले बताइन्। उनले पनि एसिया कप र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरिन्। उपकप्तान सोनीले विश्वकपमा छनोट भएपछि सिनियर टोलीका दिदीसँग कुराकानी भएको र आफूहरूको पनि सपना पूरा हुँदा धेरै खुसी देखिनु भएको बताइन्। ‘विश्वकप खेल्ने उहाँहरूको पनि सपना थियो। छनोट भएपछि खुसी व्यक्त गर्नु भयो। आज पनि उहाँहरू धेरै खुसी हुनुहुन्थ्यो,’ सोनीले भनिन्।
नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले विश्वकपमा छनोट हुन सक्छौं भन्ने खेलाडीमा विश्वास भएकाले पनि सफलता मिलेको बताए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले नेपाली टोलीलाई स्वागत गरे।
सो अवसरमा राखेप सदस्यसचिव घिसिङले नेपाली महिला क्रिकेट पनि अर्को उचाइमा पुग्ने पर्खाइमा रहेको र त्यो सफलता यु–१९ टोलीले दिलाउनु सुखद पक्ष रहेको बताए। उनले अब यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप र एसिया कप छनोटका लागि जुन किसिमको तयारी आवश्यक पर्छ त्यसका लागि राखेप तयार रहेको बताए। उनले विश्वकपको तयारीमा लगानी गर्न राज्य तत्पर रहेको विश्वास व्यक्त गरे।
साथै घिसिङले राज्यले दिनुपर्ने पुरस्कारका लागि आफ्नै पहलमा कानुन नै बनिसकेकाले घोषणा गर्न आवश्यक नै नरहेको प्रस्ट्याए ।
प्रकाशित: ३० कार्तिक २०८१ ०६:३२ शुक्रबार