खेल

सिरिजङ्गा गोल्डकपमा सहभागी हुने आठ टिमको टुङ्गो

ताप्लेजुङको सरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकमा मंसिर २३ गते देखि हुने अन्तर्राष्ट्रिय आमन्त्रण सरिजङ्गा गोल्ड कपमा सहभागी हुने ८ टिमको टुङ्गो लागेको छ।आयोजक तेल्लोक स्पोर्टिङ क्लबले शुक्रवार पत्रकार सम्मेलनमार्फत गोल्ड कपमा सहभागी टिमको नाम सार्वजनिक गरेको हो। 

मंसिर २३ देखि २९ गते सम्म तेल्लोकमा अन्तर्राष्ट्रिय आमन्त्रण सरिजङ्गा गोल्ड कपका साथ सरिजङ्गा मेलाको आयोजना गरिएको छ।तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार गोल्ड कपमा भारतको एकसहित कोसी प्रदेशका प्रतिष्ठित फुटबल क्लब सहभागी हुने छन्। 

उनका अनुसार गोल्ड कपमा पारिजात संघ फुटबल क्लब, सिलिगुढी(भारत), बद्ररहुड फुटबल क्लब, बेलका(उदयपुर), न्यू स्टार फुटबल क्लब(झापा), मरिक फुटबल क्लब(धरान,सुनसरी), सरिजङ्गा स्पोर्टिङ क्लब(मोरङ), साँगुरीगढी फुटबल क्लब(धनकुटा),वाई वाई पाँचथर फुटबल क्लब(पाँचथर) र तेल्लोक स्पोर्टिङ क्लब,तेल्लोक(ताप्लेजुङ) सहभागी हुनेछन्।

तेल्लोक स्पोर्टिङ क्लबले आयोजक हुँदै ताप्लेजुङको प्रतिनिधित्व गर्ने छ । अन्तर्राष्ट्रिय आमन्त्रण सरिजङ्गा गोल्ड कपको चौथो संस्करणको विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र तथा उपविजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। 

गोल्ड कपमा विधागत पुरस्कार समेतको प्रबन्ध गरिएको तेल्लोक स्पोर्टिङ क्लबका सहसचिव सुमन भट्टराईले जानकारी दिए। उनका अनुसार विधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ।यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने  समेत आयोजकले जानकारी दिएको छ।

सहभागी टिममध्ये सबैभन्दा अनुशासित र मर्यादित खेल खेल्ने एक टिम तथा उत्कृष्ट व्यवस्थापक र उत्कृष्ट प्रशिक्षकलाई समेत समापनको दिन सम्मान गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। क्लबका अध्यक्ष भट्टराईका अनुसार २०७८ सालबाट आमन्त्रण सरिजङ्गा गोल्ड कप हुँदै आएको थियो। 

चौथो संस्करण मानिएको यस पटकको प्रतियोगिताबाट अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु हुन लागेको उनले जानकारी दिए।सो भन्दा अघि तेल्लोक गोल्ड कप सञ्चालन हुने गरेको थियो।आमन्त्रण तथा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु हुनु पूर्व सरिजङ्गा मेला तथा सो अवसरमा प्रतियोगितात्मक तथा मैत्रीपूर्ण खेल गतिविधि हुने गरेका थिए।अहिले भने अन्तर्राष्ट्रिय आमन्त्रण सरिजङ्गा गोल्ड कप र सरिजङ्गा मेला एकसाथ सञ्चालन हुने समेत भट्टराईले बताए।

खेलकुदका माध्यमबाट ताप्लेजुङको सरिजङ्गा गाउँपालिका र तेल्लोकको पहिचान स्थापित गर्ने,यो क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा योगदान पुर्‍याउने,खेलप्रति स्थानीय समुदायको आकर्षण बढाई युवाहरूमा खेल मोह जागृत गराउने उद्देश्यका साथ गोल्ड कप र मेलाको आयोजना गरिएको समेत उनले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०८१ १०:२२ शुक्रबार

#Taplejung @Sirijanga Gold Cup