खेल

क्रस कन्ट्री दौड शनिबार

पोखरामा कात्तिक २४ गते शनिबार अन्तर्राष्ट्रिय स्तरको ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ। हिमालयन टुरिजम फोरमको आयोजनामा हुने सो प्रतियोगिता तेस्रो संस्करणको हो। यसअघि दुई संस्करण सम्पन्न भइसकेको यो प्रतियोगिताअन्तर्गत चार विधामा प्रतिस्पर्धा हुने आयोजक हिमालयन टुरिजम फोरमले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

प्रतियोगिताअन्तर्गत खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्रछात्रा दौड र ह्याप्पी रन समूह गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ५० किलोमिटर दूरीको समूहगत दौड पोखराको लेकसाइडस्थित वाराही घाटबाट सुरु भई २ हजार २ सय ५८ मिटर उचाइसम्मको रहनेछ। सो स्पर्धामा खेलाडीहरूले ट्रेल रनिङ, साइक्लिङ र रोइङ गर्नुपर्नेछ। जसमा १७ वटा नेपाली र ४ वटा चिनियाँ टोलीले सहभागिताका लागि नाम दर्ता गराएका छन्।

च्यालेन्ज इन्डिभिजुअल दौड पनि ५० किलोमिटरकै हुनेछ। वाराही घाटबाटै सुरु हुने यस स्पर्धामा खेलाडीले २ हजार ३ सय ६६ मिटरको उचाइसम्मको दूरी पार गर्नुपर्नेछ। जसमा १ सय जना नेपाली र ५२ जना चिनियाँ गरी कुल १ सय ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन्। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने विद्यार्थी दौड प्रतियोगिता ५ किलोमिटरको हुने जनाइएको छ। सो स्पर्धामा कुल ५ सय जना विद्यार्थीले नाम दर्ता गराएका छन्।

प्रकाशित: २३ कार्तिक २०८१ ०९:०१ शुक्रबार