खेल

कर्णाली याक्सको गीत र फेस अफ कर्णाली सार्वजनिक

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइज कर्णाली याक्सले आफ्नो टोलीको गीत र फेस अफ कर्णाली सार्वजनिक गरेको छ।

बुधबार एक कार्यक्रम आयोजना गर्दै कर्णाली याक्सले आफ्नो गीत सार्वजनिक गर्दै फेस अफ कर्णालीको रूपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको हो। नेपाल प्रिमियर लिगको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ। उक्त एनपिएलको लागि कर्णाली याक्सले तयारीमा तीव्रता दिइरहेको छ। बुधबार नक्सालमा एक कार्यक्रम आयोजना गर्दै कर्णाली याक्सले कर्णाली क्षेत्रको पहिचान झल्कने किसिमको गीत पनि सार्वजनिक गरेको थियो।

हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीको प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन्। हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सकै उपाध्यक्ष रहेका सुनिल खनालको शब्द, सङ्गीत र स्वरमा गीत तयार पारिएको हो। कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थित रहेको थियो। कर्णाली याक्सका मार्की खेलाडी नेपाली टोलीका फास्ट बलर सोमपाल कामी हुन्। यो टोलीले तीन विदेशी खेलाडी वेस्ट इन्डिजको ब्याटर चाडविक एन्टोनिओ वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ।

कर्णालीका सह मालिक गृहेन्द्र घिमिरेले थप खेलाडी चाडै सार्वजनिक गरिने जानकारी गराए। कार्यक्रममा नायिका स्वस्तिमा खड्काले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन, वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताइन। उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन्। खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसङ्ग सुनाएकी थिइन्। उनले आफ्नो श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज भएको जानकारी गराइन्।

प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे। उनले भारतमा पनि यस्तै प्रचलन रहेकाले यो राम्रो सुरुवात भएको बताएका छन्। कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ। ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रेलाई टोलीमा समावेश गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८१ २०:५२ बुधबार

#Nepal Premier League (NPL) #Karnali yaks #Actress Swastima Khadka