खेल

भूपेन्द्रले अमेरिकामा प्रतिस्पर्धा गर्ने

नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा हुने गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन्।

ट्रेडिसनल चाइनिज मार्सल आर्टस फेडरेसन युएसएको आयोजनामा क्यालिफोर्नियास्थित आर्काडिया हाईस्कुल जिम्नाजियममा उक्त च्याम्पियनसिप हुँदै छ। भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहको दुई स्पर्धामा प्रतिस्पर्धा गर्न लागेका हुन्। 

त्यसका लागि भूपेन्द्र बुधबार अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्दैछन्। नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सञ्जितकुमार राई र आदिवासी खेलकुद संघ नेपालका प्रशिक्षक इजिकेल परियारले मंगलबार भूपेन्द्रलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। भूपेन्द्रले ताइची र ट्रेडिसनल चाइनिज फम्समा आफ्नो कौशल प्रस्तुत गर्ने भएका छन्।  

च्याम्पियनसिपमा विभिन्न ३० राष्ट्रका दुई सय ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। 

भूपेन्द्रले तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका छन्। उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए। उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए। 

प्रकाशित: २१ कार्तिक २०८१ ०९:४४ बुधबार

#Goldendragonchampionship