खेल

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम र कर्णाली विजयी

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमो रियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सबै विकेट गुमाई १ सय ३३ रनको योगफल बनायो। कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिष थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए। मधेसका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए। १ सय ३४ रनको लक्ष्य पाएको मधेसले २७ दशमलव २ बलमा सबै विकेट गुमाई ८६ रनमा सीमित हुन पुग्यो।

मधेसका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए। कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा यूनिस ठकुरीले ३ विकेट लिए। कर्णालीले ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेसले ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अङ्कका साथ पाँचौ स्थानमा रहेको छ।

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा सुदूरसँग कोशी  प्रदेशले १ सय २३ रनको लज्जापद पराजित भोगेको छ। टस जितेर ब्याटिङ गरेको सुदूरले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सबै विकेट गुमाई १ सय ८३ रन बनायो। सुदूरका सुवराज खत्रीले ४४ रन बनाउँदा  अविषेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए। कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए। १ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो।

कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय हुन पुग्यो। सुदूरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए। उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए त्यस्तै नरेन भट्टले पनि ४ विकेट लिए। सुदूरले सबै ५ खेल खेल्दा  ५ वटामै  जित हात पार्दै १० अंककासाथ दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेको ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अङ्कका साथ  पुछारबाट दोस्रो स्थानमा रहेको छ। मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेस प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमती र कर्णाली प्रदेशबिच अन्तिम लिग खेल हुनेछ।

प्रकाशित: १९ कार्तिक २०८१ १७:४२ सोमबार