खेल

खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लवलाई

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका गाउँपालिका वडा नं ७ खेवाङमा सम्पन्न खेवाङ गोल्डकपको उपाधि पेदाङ स्पोर्टिङ क्लबले जितेको छ। फाइनलमा पाँचथरको कुम्मायक गाउँपालिका यासोकको टिमलाई गोल ४–१ को फराकिलो अन्तरले पराजित गर्दै पेदाङले उपाधि हात पारेको हो। विजेता टोली पेदाङले खेलको १९ औ मिनेटबाट अग्रता लिएको थियो। 

पेदाङका लागि निरोज लिङदेनले पहिलो गोल गरे। ३२ औ मिनेटमा शेखर राईले गोल गर्दै टिमको अग्रता दोब्बर पारे। रोशन  आङदेम्बेले खेलको ५१ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाउँदा कुम्मायकको लागि दिप्सन लावतीले सान्त्वना गोल फर्काए। 

खेलको आखिरी समयमा पेदाङका लागि रोशनले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे। यो संगै पेदाङले पाहुना टोलीमाथि सहज जीत निकाल्यो। बिजेता पेदाङ स्पोर्टिङ क्लवले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहितट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्‍यो। 

उपविजेता कुम्मायकले १ लाख ११ हजार एकसय ११ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गरेको आयोजक खेवाङ स्पोर्टिङ क्लवका  अध्यक्ष बिनम मावोले जानकारी दिए। 

तीन पाहुना टोली सहित आठ टिम सहभागी खेल कात्तिक १० गतेबाट सुरु भएको थियो। विजेता र उपविजेता टिम तथा खेलाडीलाई कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले नगद,ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरेका छन्। 

यो प्रतियोगिता खेवाङ गोल्डकपको सातौं संस्करण हो ।प्रतियोगिताको प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका थिए। खेवाङ स्पोर्टिङ क्लवले बिभिन्न दाता तथा सहयोगी महानुभावहरुको सहयोगमा ७ जना खेलाडीले खेल्न मिल्ने आफ्नै फुटबल खेल मैदान समेत निर्माण गरेको छ। 

सांसद भट्टराईले सांसद विकास कोषबाट खेल मैदानका लागि २० लाख रुपैयाँ दिएका थिए। सिरिजङ्गा गाउँपालिका र अन्य दाता महानुभावहरुले समेत सो खेल मैदानमा आर्थिक साझेदारी गरेका छन्।

प्रकाशित: १६ कार्तिक २०८१ ०९:०७ शुक्रबार

#football