खेल

तेस्रो गबुवा फुटबलको उपाधि शाकालाई

उपाधि जितेपछि सामूहिक तस्बिर खिच्दै शाकाका खेलाडी। तस्बिरः महेश्वर

शुभ दीपावलीको अवसर पारेर उदयपुरको कटारीमा आयोजित ‘तेस्रो गबुवा नकआउट फुटबल प्रतियोगिता ०८१’ शाक फुटबल क्लब कटारीले जितेको छ।

कटारी नगरपालिका ४ गबुवामा मङ्गलबार सम्पन्न फाइनल खेलमा कटारी २ स्थित गराँस फुटबल क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै शाक उपाधि हात पार्न सफल भएको हो। शाकाका लागि अनिश राईले २ गोल गरे भने धनजित धिमाल र प्रताप राईले समान १–१ गोल गरेका थिए।

गबुवा स्पोर्टस क्लब कटारीको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलदेखि सेमिफाइनलसम्म दबाब जमाउँदै फाइनल पुगेको गराँसले फाइनलमा कुनै गोल गर्न नसक्नु पीडादायक हुन गयो। प्रतियोगिता अवधिभर प्रभाव जमाएको टिम फाइनलमा गोलरहित टुङ्गिनुले स्वभाविक रुपमा खल्लो महसुस गराएको दर्शक दीर्घाकै प्रतिक्रिया थियो।

खेलको म्यान अफ द म्याच शाकाकै अनिश राई घोषित भए। उत्कृष्ट खेलाडी गराँसका अयुब राई घोषित हुँदा उत्कृष्ट गोल रक्षक शाकाकै समिर बमजन घोषित भए। सर्वाधिक गोलकर्ता ४ गोल गर्ने शलेस युवा समूह कटारी ५ का खेलाडी सुजित अधिकारी घोषित भए। कात्तिक ५ गतेदेखि सुरु प्रतियोगितामा उदयपुर र सिन्धुलीका १० खेल समूहको सहभागिता थियो।

उपाधिसँगै शाकाले नगद ७७ हजार ७ सय ७७, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता गराँसलाई नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र दिइएको छ। उनीहरुलाई प्रमुख अतिथि उदयपुर निर्वाचन क्षेत्र २ (ख) का प्रदेशसभा सदस्य तथा निवर्तमान प्रदेशमन्त्री रामकुमार खत्री र क्लबका अध्यक्ष अभिषेक विश्वकर्माले संयुक्त रुपमा ट्रफि, पुरस्कार र प्रमाणपत्र वितरण गरे।

पुरस्कार वितरण गर्दै सांसद खत्रीले फुटबल खेलमध्येकै उत्कृष्ट भएकाले यसको माध्यमबाट कटारीलाई चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले खेलकुद क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। 

प्रकाशित: १४ कार्तिक २०८१ १८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App