न्यु डायमण्ड युथ स्पोर्टस क्लबले आफ्ना खेलाडी र प्रशिक्षकलाई पारिश्रमिक दिने भएको छ।
बुधवार एक कार्यक्रम आयोजना गरी क्लबले खेलाडीलाई मासिक पारिश्रमिक दिने घोषणा गरेको हो। क्लबले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक तथा खेलाडीहरुलाई चार तहमा वर्गीकरण गर्दै पारिश्रमिक दिने भएको हो।
मुख्य प्रशिक्षकले ३० हजार र सहायक प्रशिक्षकले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। पहिलो तहका खेलाडीले १५ हजार, दोस्रो तहकाले १० हजार, तेस्रो तहकाले ५ हजार र चौथो तहका खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने क्लबले बताएको छ।
न्यू डायमण्डमा अहिले मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा तलिता नाथ छन्। यस्तै पहिलो तहमा प्रतिभा माली र सलिना श्रेष्ठ, दोस्रो तहमा प्रगती नाथ, सुमित्रा रेग्मी, वालमिका आचार्य, सालिना बुढामगर, जेनिसा विश्वकर्मा, एन्जिला प्रधान, निशा महर र भावना तामाङ रहेका छन् । यस्तै तेस्रो तहमा रेविका लामा तामाङ तथा चौथो तहमा नामसार राना, रन्जना बुढामगर, दिक्षिका सुवेदी, सिखा श्रेष्ठ, सलिना गुरुङ र सुनिता खत्री छन्।
प्रकाशित: १४ कार्तिक २०८१ १३:२९ बुधबार