खेल

नरेश श्रेष्ठ मेमोरियल मेन्स यू १९ राष्ट्रिय क्रिकेट : लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल मेन्स यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेश विजयी भएका छन्।

प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गरेको छ। गण्डकीले टस जितेर बागमतीलाई ब्याटिङ गर्न दिएको थियो। 

बागमतीले ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय २९ बनायो।नितेश कुमारले ५३, उत्तम मगरले ४०, रिङजिङ लामाले ३९, गोकुल अधिकारीले ३६, रोशन विश्वकर्माले २६ र सुर्याङसु कोइरालाले २० रनको योगदान गरे। गण्डकीका किरण भट्टराईले ३, सुदीप अर्याल र अपराजित पौडेले १–१ विकेट लिए।

गण्डकीले पाएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ३६ ओभर खेल्दै सबै विकेटको क्षतिमा १ सय २९ रनमै सीमित भयो । अर्जन कुमारले ३१, सिब्रिन श्रेष्ठले २९, रोहित चन्दले २१ र सुजन गौतमले १६ रन बनाए । बागमतीका दिनेश विष्ट र दीपक सेरलाले ३–३, दयानन्द मण्डलले २ र रोशन विश्वकर्माले १ विकेट लिए। प्लेयर अफ द म्याच बागमतीका नितेश कुमार भए।

गण्डकीले २ खेलमा २ अंक जोड्यो भने बागमती १ खेलबाट २ अंक बटुलेको छ।त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गर्‍यो।

सुदूरपश्चिमले टस जिती लुम्बिनीलाई पहिलो ब्याटिङको मौका दिएको थियो।  ब्याटिङ गर्दै लुम्बिनीले ३८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा समेटियो। धिरस सुनारले ३८ रन, निर्मल गुरुङले २७, सम्राट भुसाल र निर सार्कीले २५–२५ रन बनाए। सुदूरपश्चिमका हेमन्त धामी, युवराज खत्री र अशोक धामीले समान ३–३ विकेट विकेट लिए।

१ सय ५७ रनको लक्ष्य पाएको सुदूरपश्चिम ३५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय १५ रनमै समेटियो। युवराज खत्रीले २२, कैलाश एरले २१, नरेन भट्ट र प्रकाश पाण्डेले १३–१३ रन बनाए। लुम्बिनीका रमेश कुर्मीले ५, सन्तोष यादवले ४ र आकाश त्रिपाठीले १ विकेट लिए। प्लेयर अफ द म्याच लुम्बिनीका रमेश कुर्मी भए। लुम्बिनीले २ खेल जित्दै ४ अंक बनाएको छ।

मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिम र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मधेस र बागमती प्रदेशबीच खेल हुनेछ।

प्रकाशित: १२ कार्तिक २०८१ १९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App