खेल

लिभरपुललाई सालाहको अभाव

लन्डन – मोहम्मद सालाह अनुपस्थित खेलमा शनिबार लिभरपुल र एभर्टनले गुडिसन पार्कमा सम्पन्न ‘मर्सिसाइइड’ डर्बीमा गोलरहित बराबरी खेलेका छन्।

गत बुधबार घरेलु मैदान एन्फिल्डमा सम्पन्न च्याम्पियन्स लिग क्वार्टरफइनल पहिलो लेगमा इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दा नायक बनेका सालाह ग्रोइनको समस्याका कारण एभर्टनविरुद्ध मैदानबाहिर बसेका थिए।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ड्यानी इङ्स र डोमिनिक लोलन्केलाई अवसर दिए पनि उनीहरूले आफ्नो उपस्थिति प्रमाणित गर्न सकेनन् । क्लोपले दोस्रो हाफमा रोबर्टाे फिर्मिनोलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गराए पनि लिभरपुलले सुखद नतिजा ल्याउन सकेन।

यस बराबरीपछि ३३ खेलमा ६७ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा यथावत् छ । जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १ अंक कम हो । ३२ खेलमा ८४ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । ४१ अंक जोडेको एभर्टन नवौं स्थानमा छ।

पहिलो हाफमा लिभरपुलका गोलकिपर लोरिस कार्युसले यानिक बोलासेले २५ यार्ड टाढाबाट गरेको प्रहार रोक्दै घरेलु टोलीलाई निराश पारेका थिए।

यसअघि सिमस कोलेमन र वैकल्पिक खेलाडी डोमिनिक काल्भर्ट–लिविनले दुई सुनौलो अवसर गुमाउदा एभर्टन निराश बनेको थियो।

प्रकाशित: २५ चैत्र २०७४ ०४:३६ आइतबार

लिभरपुललाई सालाहको अभाव