खेल

आईएसएफ जिम्नासाइडका टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबलाई पराजित गरेको छ।

बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि आइतबार भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबलाई ४–१ ले पराजित गरेको हो। जितसँगै नेपालले सोमबार ९ देखि ११ औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ। यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ। नतिजा अनुकुल नआएमा नेपाल ११ औं स्थानमा रहने छ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो। नेपाल इङल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईंसँग ७–० ले पराजित भएको थियो। महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेली रहेका छन्।

महिलामा नेपालले सिङ्गल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ। त्यस्तै पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिङ्गल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

प्रकाशित: ११ कार्तिक २०८१ १०:४४ आइतबार

#Nepal #table tenis #viyanka rai