खेल

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन

 रितिक राणा र सुनिरा थापा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन भएका छन् ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा सुनिरा महिला सिंगल्स र रितिक पुरुष सिंगल्समा च्याम्पियन भएका हुन्। सिंगल्स च्याम्पियनद्वय रितिक र सुनिराले समान एक लाख रूपैयाँ नगद पुरस्कार पाए। 

सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको पुरुष सिंगल्सको फाइनलमा सुनिराले अभिलाशा बिष्टमाथि ६–४ र ७–५ को जित रचिन्। पुरुष सिंगल्सको फाइनलमा रितिकले राजवीर प्रधानलाई ६–३ र ६–४ ले हराए। सिंगल्समा दोस्रो भएका खेलाडीले नगद ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे। पुरुष सिंगल्समै प्रणव मानन्धर र आयुष्मान हजुर घले संयुक्त रूपमा तेस्रो भए।  

महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका बिष्ट तेस्रो भए। तेस्रो स्थानका खेलाडीलाई समान १२ हजार पाँच सय रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो। नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा सिनियर महिला र पुरुषमा १२ स्पर्धा तथा जुनियरमा ६ स्पर्धामा प्रतिस्पर्धा हुने तय थियो। 

तर, खेलाडी संख्या नपुगेपछि सिनियर महिला डबल्सको प्रतिस्पर्धा भने हुन सकेन। शनिबार महिला र पुरुष सिंगल्स फाइनलसँगै पुरुष ४५ वर्षमाथि सिंगल्सको उपाधि भिडन्त पनि भएको थियो। यस उमेरसमूहमा कमलबहादुर भण्डारी च्याम्पियन भए ।

उनले शनिबार भएको फाइनलमा छेवाङ लामामाथि ६–१ र ६–२ को जित रचे। च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार सात सय ५० रूपैयाँ प्राप्त गरे। यसै उमेरसमूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे। यी दुईले तीन हजार १२५ रूपैयाँ प्राप्त गरे। यस प्रतियोगितामा कमल थापाले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्समा गरी दुई उपाधि जिते। पुरुष डबल्समा आयुष्मान घले र प्रदीप  

खड्काको जोडीले सफलता पाएका थिए। पुरूष ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री र डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी च्याम्पियन भए।  

त्यस्तै ५५ वर्षमाथि डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले सफलता पाए। ३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ पाए।

३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय प्राप्त गरे। ४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार २५० रूपैयाँ पाए। यसै उमेरसमूहका डबल्स विजेताले २५ हजार, १२ हजार पाँच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रूपैयाँ पुरस्कार पाए।  

जुनियरतर्फ बोइज र गल्र्समा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिस्पर्धा भयो। 

प्रतियोगिताको विजेतालाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले लगायतले पुरस्कृत गरे। 

प्रकाशित: ११ कार्तिक २०८१ ०७:२७ आइतबार

#Tennis