खेल

दुई खेलमा नेपालको खराब सुरुआत

आइएसएफ जिम्नासाइड समर गेम्स उद्घाटन

नेपालका पाँच खेलका ३२ खेलाडीले चुनौती प्रस्तुत गरेको प्रत्येक दुई वर्षमा हुने आइएसएफ जिम्नासाइड समर गेम्स बहराइनको मानामा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजनामा सुरु भएको आइएसएफ जिम्नासाइड समर गेम्सलाई मिनी ओलम्पिकका रूपमा पनि लिने गरिन्छ। कुल ६९ राष्ट्रबाट खेलाडीसहित प्रशिक्षक, निर्णायक, हेड अफ डेलिगेसन र अफिसियललगायत गरी पाँच हजार चार सय ५३ जना प्रत्यक्ष रूपमा यस मिनी ओलम्पिकमा सहभागी भए। बहराइन नेसनल स्टेडियममा बिहीबार राति सम्पन्न उद्घाटन समारोहको मार्च पास्टमा युवा बक्सर नोर्बु थेन्डुप लामाले नेपालको झन्डा बोकेका थिए।  उद्घाटनका अवसरमा विद्यार्थीहरूको आकर्षक प्रस्तुतिसँगै आतिसबाजी पनि गरिएको थियो ।

यस जिम्नासाइड समर गेम्समा कुल ६९ राष्ट्रबाट दुई हजार एक सय ७२ पुरुष तथा एक हजार पाँच सय ४२ महिला गरी कुल तीन हजार सात सय १४ खेलाडीले चुनौती प्रस्तुत गरिरहेका छन्। नेपालाट खेलाडीसहित कुल ५८ सदस्यीय नेपाली टोलीलाई मानामास्थित विङदाम गार्डेन होटलमा राखिएको छ। आयोजक राष्ट्र बहराइनबाट सबैभन्दा बढी तीन सय ६१ खेलाडी सहभागी छन्। सबैभन्दा कम खेलाडी लक्जेम्बर्ग, मोन्टेनेग्रो, ताजकिस्तान र टोगोबाट समान दुई खेलाडीले खेल्दै छन्। पाहुना टोलीको व्यवस्थापनका लागि २८ होटल प्रयोग गरिएको छ। दक्षिण एसियाली राष्ट्रबाट नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको मात्र प्रतिनिधित्व छ।  

नेपालबाट बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा सबै भन्दा बढी १५ खेलाडी सहभागी छन्। यसमा कुल चार टोलीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। सबै भन्दा कम ब्याडमिन्टनमा एक खेलाडी सहभागी छन्। टेबल टेनिसमा ६, तेक्वान्दो र बक्सिङमा समान पाँच खेलाडीको सहभागिता छ। यु–२० उमेरसमूहको आइएसएफ जिम्नासाइड १९७४ मा पहिलोपल्ट जर्मनीमा भएको थियो। बहराइनमा भइरहेको २०औं संस्करणमा पारासहित २६ खेल समावेश छन्। एथलेटिक्स, ब्याडमिन्टन, जुडो र पौडीमा पाराको पनि प्रतिस्पर्धा भइरहेको छ। पारा विधामा नेपालको सहभागिता छैन। नेपालले आइएसएफ जिम्नासाइडको १९औं संस्करणदेखि प्रतिस्पर्धा गर्न थालेको हो। त्यस बेला नेपालले पौडी, टेबल टेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।

टेबल टेनिसमा दुई हार  

आइएसएफ जिम्नासाइडको टेबल टेनिसमा नेपाल पराजित भएको छ ।इसा स्पोर्ट्स सिटीको हल ‘बी’ मा नेपालले महिला टिम इभेन्टमा दुई खेल खेल्यो र दुवैमा हार बेहो¥यो। पहिलो खेलमा इङल्यान्डले नेपाललाई ४–३ ले हराएको हो। अर्को खेल पनि नेपालले अजरबैजानसँग ५–२ ले गुमायो। महिला टिममा इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विशा मैनालीले प्रतिस्पर्धा गरिहरहेका छन्। नेपालले शनिबार इटाली र चाइनिज ताइपेईंसँग खेल्नेछ। टेबल टेनिसमा नेपालले महिलामा सिंगल्स र टिम तथा पुरुषमा सिंगल्स स्पर्धामा भाग लिएको छ ।

बक्सिङमा युनिक पहिलो चरणबाटै बाहिर  

बक्सिङमा नेपाली खेलाडी युनिक राई पहिलो चरणबाटै बाहिरिएका छन्। अल अहली क्लबमा भएको पुरुष ६३ केजीमुनि प्रिक्वार्टरफाइनलमा युनिक रोमानियाका स्टेगारीसँग ५–० ले पराजित भए। शनिबार दुई नेपाली पुरुष बक्सरले प्रतिस्पर्धा गर्नेछन्। ७५ केजीमुनि नोर्बु थेन्डुप शेर्पा र ८० केजीमुनि सूर्यान वैद्यले खेल्ने प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। बक्सिङमा चार पुरुष र एक महिला गरी पाँच खेलाडीको सहभागिता छ।  

नेपालले शनिबारै बास्केटबल र ब्याडमिन्टनमा पनि प्रतिस्पर्धा गर्नेछ। इसा स्पोर्ट्स सिटी आउटडोरमा हुने बास्केटबलमा नेपालको चार टिमले शनिबार मात्र ९ खेल खेल्नेछन्। नेपाल ‘वान’ ले स्लोभेनिया, नाइजेरिया र थाइल्यान्ड तथा ‘टु’ ले आइएसएसओ भारत र ओमानको सामना गर्नेछ। नेपाल ‘थ्री’ ले युगान्डा र बहराइन तथा ‘फोर’ ले चीन र भारतको अर्को टोलीविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ। तेक्वान्दो अक्टोबर २८ तारिखदेखि सुरु हुनेछ ।

प्रकाशित: १० कार्तिक २०८१ ११:४३ शनिबार