खेल

बेलबारी गोल्डकपको उपाधिका लागि झापा र सिराहा भिड्दै

सिराहाको सलहेश फुटबल क्लब बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा पुगेको छ। 

एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा सिराहाले काठमाडौको चित्लाङ फुटबल क्लबलाई ५–१ गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

शनिबार सिराहाले उपाधिका लागि झापा ११ सँगप्रतिस्पर्धा गर्नेछ। सिराहाको जितमा विदेशी खेलाडी अजयी मार्टिनले ह्याट्रिक गरे भने आदित्य शाक्यले २ गोल थपे। 

खेलको चौथो मिनेटमा चित्लाङका हेनरीले गोल गर्दै अग्रता दिलाएका थिए। समन धिमालले मिलाइ दिएको पासमा उनले गोल गरेका हुन्। चित्लाङको अग्रता मध्यान्तरसम्म पनि टिक्न सकेन। 

अजयी मार्टिनले खेलको ६८ औं, ८६ औं र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे। आदित्य शाक्यले पहिलो हाफको अतिरिक्त समयमा र ७८ औं मिनेटमा सिराहाका लागि गोल गरे। अजयी मार्टिनले म्यान अफ द म्याच हुँदै नगद ५ हजार र ट्रफी प्राप्त गरे ।   

प्रकाशित: ९ कार्तिक २०८१ १९:३२ शुक्रबार

#Belbari Gold Cup Football