नरेश श्रेष्ठ मेमोरियल मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा सुरु हुँदैछ।
कोशी प्रादेशिक क्रिकेट संघले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको छ। संघका अध्यक्ष शर्वजितराज पाण्डेले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र बाहिरबाट आउने खेलाडी टोलीहरू शुक्रबार साँझसम्म आइपुग्ने बताए।
नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधि प्रवल गौतमले क्यानको वार्षिक कार्यक्रमअनुसार यस पटक कोशी प्रादेशिक क्रिकेट संघको समन्वयमा विराटनगरमा प्रतियोगिता हुन लागेको जानकारी दिए। उनकाअनुसार पहिले पहिले खेलका सम्पूर्ण कार्यक्रमहरु केन्द्रीकृत हुने गरेको थियो। जसले गर्दा खेल काठमाडौँमै सीमित हुने गरेकामा पछिल्लो समय क्यानले यस नीतिलाई परिमार्जन गर्दै प्रदेश र जिल्लामा इभेन्ट गर्न थालेको गौतमले बताए।
यस पटक यु–१९ राष्ट्रिय प्रतियोगितामा विराटनगर भए पनि अर्को वर्ष यहीँ हुन्छ भन्ने छैन। अर्को प्रदेशमा पनि हुन सक्ने बताउँदै, गौतमले भने, ‘क्यानको केन्द्रले नै अर्को पटक कहाँ कहिले गर्ने मिति र स्थान तोक्छ। यो प्रतियोगिता विगतमा वाइ वाइको नामबाट हुँदै आए पनि यस पटकदेखि प्रतियोगिताको नाममा नरेश श्रेष्ठ जोडिएर हुन लागेको हो। श्रेष्ठ क्यानका पूर्व उपाध्यक्ष थिए। उनैको स्मृतिमा नाम जोडेर प्रतियोगिता हुन लागेको हो। क्यानको वार्षिक कार्यक्रम भएकाले यसले निरन्तरता पाउने छ।’
सिंगल राउण्ड रोबिनका आधारमा खेल हुनेछ। विराटनगरस्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदान र मेर्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा कात्तिक १० देखि कात्तिक २१ गतेसम्म खेल हुने बताइएको छ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै, व्यक्तिगत विधातर्फ दैनिक प्लेयर अफ द म्याचले ३ हजार, म्यान अफ द सिरिजले ३५ हजार, उत्कृष्ट बलर र ब्याटर जनही २०–२० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको जिल्ला छनौटदेखि अन्तिमसम्म कबिर १ करोड ९० लाख ९६ हजार रुपैयाँ अनुमानित खर्च रहेको गौतमले बताए।
सो अवसरमा कोशी प्रादेशिक क्रिकेट संघका पदाधिकारीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई खादा ओढाएर शुभकामना दिएका थिए।
प्रकाशित: ९ कार्तिक २०८१ १८:२५ शुक्रबार