खेल

चितवनमा भएको म्याराथनमा आर्मीको दबदबा

जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको म्याराथन प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ।

रोटरी क्लब अफ चितवनले शुक्रबार आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको म्याराथनमा महिला र पुरुष तर्फ नेपाल आर्मी नै प्रथम भएको हो।

पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन्।अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका गोरखा स्थायी घर भएका श्रेष्ठले निर्धारित दुरी ४५ मिनेट १६ सेकेन्डमा पुरा गरे। त्यस्तै मेलम्ची स्थायी घर भएका एपीएफका राजेन्द्र तामाङ द्वितीय भएका छन्। उनले ४५ मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए। ४५ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै आर्मीका रत्नबहादुर खत्री तृतीय हुन सफल भए।  जुम्लाका धीर बहादुर बुढाले  सान्त्वना पदक जिते। उनले ४६ मिनेट ५९ सेकेन्डमा १४ किलोमिटरको दुरी पार गरेका थिए।

महिला तर्फ आर्मीकै प्रजिता श्रेष्ठ प्रथम भएकी छिन्। निर्धारित १४ किलोमिटरको दुरी ५६ मिनेटमा पुरा गर्दै उनी प्रथम भएकी हुन्। एपिएफकी फुलमती राना द्वितीय, आशा रावत तृतीय र आर्मीकी राज्य लक्ष्मी रावलले सान्त्वना पदक जितेकी छिन। उनीहरुले क्रमशः ५६ मिनेट ९ सेकेन्ड, ५६ मिनेट २९ सेकेन्ड, र ५७ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए।

पुरुष र महिला तर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।

जैविक विविधता र परिस्थिति प्रणालीको संरक्षणमा चेतना फैलाउने, सर सफाइको विषयमा स्थानीयलाई जागरूक बनाउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय हेरिटेज म्याराथन’को आयोजना गरिएको हो। यस्ता कार्यक्रमले पर्यटनसंगै खेलकुदको समेत विकास हुने पर्यटन मन्त्री बद्री पाण्डेले बताए।

पुरस्कार प्रदान गर्दै मन्त्री पाण्डेले खेलकुदको माध्यमबाट पनि पर्यटकको वृद्धि गर्न सकिने धारणा राखे। साथै उनले भरतपुर विमानस्थलमा रात्रिकालीन विमान सञ्चालन गर्ने तयारी भएको बताए। ‘भरतपुर विमानस्थलको क्षेत्र विस्तार गर्नुपर्ने छ। यसले रात्रिकालीन सेवा दिने गरी त्यसका उपकरणहरू जडान गर्नुपर्ने हुन्छ,’ उनले भने ‘मन्त्रीका नाताले यस्ता काम गर्ने कुराको प्रतिबद्धता जनाउँदछु ।’

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भिजिट भरतपुरलाई समेत यस प्रतियोगिताले सहयोग गरेको बताइन्। म्याराथनमा ५०० जनाको हाराहारीमा सहभागिता रहेको थियो। भरतपुर महानगरपालिका, रोटरी क्लब अफ चितवन, मेघौली उपभोक्ता समिति, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समितिको सहभागिता रहेको थियो। 

प्रकाशित: ९ कार्तिक २०८१ १६:५७ शुक्रबार

#Marathon competition #Conservation of biological diversity