खेल

कैलाश राई स्मृति फुटबल: उपाधिका लागि दमौटी र सगरमाथा भिड्ने

<br>

फाइनलका लागि भिड्दै दमौटी र फ्युजन। तस्बिर: महेश्वर

त्रियुगा नगरपालिका-५ को दमौटी फुटबल क्लब सदरमुकाममा जारी ‘दोस्रो स्वर्गीय कैलाश राई (युवराज) स्मृति फुटबल प्रतियोगिता ०८१’ को फाइनलमा प्रवेश गरेको छ।

त्रियुगा-४ बगाहामा जारी प्रतियोगिताको बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा त्रियुगा-२० बोक्सेको फ्युजन फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

मध्यान्तरपछिको १४ औं मिनेटमा दमौटीका टिम क्याप्टेन पविन राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको २९ औं मिनेटमा अर्का खेलाडी पुष्पराज चौधरीले टिमलाई दोस्रो गोल दिलाउँदै फाइनल यात्रा सुनिश्चित गराएका हुन्।

खेलको म्यान अफ द म्याच दमौटीका क्याप्टेन पविन राई नै घोषित भए। उनलाई आयोजकले नगद १ हजारसहित फ्लेक्स र मेडल प्रदान गरेको छ।

दमौटीले उपाधिका लागि शनिबार दिउँसो ३ बजे हुने फाइनल प्रतिस्पर्धामा सगरमाथा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। त्रियुगा-८ राजाबासस्थित सगरमाथा चौदण्डीवढी ६ बेलटारस्थित एकता युवा क्लबलाई टाईब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो।

उदयपुर, सप्तरी, सिराहा र सिन्धुलीका गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले उपाधिसहित नगद ५१ हजार पाउनेछ भने उपविजेताले ३१ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

गत वर्ष बगाहाका लोकप्रिय खेलाडी कैलाशको अल्पायुमै निधन भएको स्मृतिमा स्थानीय बगाहा युवा समूहले त्यसैसालदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ।

समूहले अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरको समन्वयमा प्रतियोगिता आयोजना गर्दै आएको वडाध्यक्ष बद्री बस्नेतले बताए।

प्रकाशित: ८ कार्तिक २०८१ २०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App