खेल

माल्दिभ्सको पोस्टमा भुटानको १३ गोल, सेमिफाइनल प्रवेश

<br>

तस्बिर: एन्फा

साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत बिहीबार भएको खेलमा माल्दिभ्सलाई भारी गोलअन्तरले हराउँदै भुटान सेमिफाइनल प्रवेश गरेको छ।

बिहीबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा भुटानले माल्दिभ्सलाई १३-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

भुटानको शानदार प्रदर्शनमा डेकी लाजोमले एक्लैले पाँच गोल गर्दै टिमलाई जिततर्फ डोर्‍याइन्। यो नतिजासँगै भुटानले ७ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा स्थान बनाएको छ।

अब नेपालले समूहको अन्तिम खेलमा आज साँझ ५:३० बजे श्रीलंकाको सामना गर्नेछ। समूह विजेता बन्न नेपालले कम्तीमा पाँच गोलको अन्तरले जित हासिल गर्नुपर्नेछ।

यसअघि नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो। तीन खेलमा २५ गोल खाएको माल्दिभ्सले कुनै पनि गोल गर्न सकेको छैन।

समूह विजेताले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ भने उपविजेता टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेलहरू आइतबार हुनेछ भने फाइनल बुधबार हुनेछ। 

प्रकाशित: ८ कार्तिक २०८१ १६:०० बिहीबार