खेल

यू–१९ क्रिकेट छनोट प्रतियोगिता: सेमिफाइनलमा सल्यान र रुकुम तथा सुर्खेत र दैलेख भिड्ने

प्लेयर अफ दि म्याच भएका सल्यानका विक्रम रोका र दैलेखका विजय बोहरा।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाई वाई अन्डर–१९ प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

ग्रुप ‘ए’ को विजेता बनेको सल्यान जिल्ला सेमिफाइनलमा रुकुम पश्चिमसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल खेल सुर्खेत र दैलेखबिच हुनेछ।

बुधबार भएको खेलमा सल्यानले कालिकोटलाई पाँच विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको कालिकोटले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो।

कालिकोटका कमल विष्टले ७० रन बनाए। ४९ बलको सामना गरेका विष्टले ११ चौका र दुई छक्का प्रहार गरे। यस्तै नवीन न्यौपानेले १४ बलमा १३ रन बनाए। बाँकी ब्याट्समेनले दोहोरो अंक बनाउन सकेनन्।

सल्यानका विक्रम रोकाले कुशल डाँगी, रोहित हमाल र अनिरुद्र कुँवरले दुई–दुई विकेट लिए भने भुवनकुमार वलीले एक विकेट लिए।

जवाफी ब्याटिङ थालेको सल्यानले ८.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। सल्यानका विक्रम रोकाले नटआउट २४ र सूर्य सुनारले १७ रन बनाए। यस्तै ओपनर अनिरुद्र कुँबरले १६ रनको योगदान दिए।

यस्तै, दोस्रो खेलमा दैलेखले कालिकोटलाई ५३ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको दैलेखले २५ ओभरमा पाँच विकेट गुमाएर १८२ रन बनायो। दैलेखका विजय बोहराले नटआउट ७२ रनको पाली खेले।

५८ बलको सामना गरेका बोहराले १० चौका र दुई छक्का प्रहार गरे। यस्तै, हिक्मतजंग शाहीले ६४ रन बनाए। ४५ बलको सामना गरेका उनले सात चौका र चार छक्का प्रहार गरे। कालिकोटका बलर चन्द्रसूर्य शाहीले दुई विकेट लिए भने रोशन शाही, कवि बम र नवीन न्यौपानेले एक/एक विकेट लिए।

जवाफी ब्याटिङ थालेको कालिकोट १९.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाउन सक्यो। कालिकोटका लागि कमल विष्टले ४२ रन बनाए भने नवीन न्यौपानेले २९ रन बनाए।

यस्तै, कवि बमले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। दैलेखका विजय बोहराले तीन र अवीनास हमाल र महेन्द्र खनालले दुई/दुई विकेट लिए।

प्रकाशित: ७ कार्तिक २०८१ १९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App