खेल

कुशलको प्रेरणामा शृंखलामाथि नेपालको ‘क्लिन स्विप’

लामो समयदेखि लयमा नहुँदा नेपाली राष्ट्रिय टोलीमा ओपनर कुशल भुर्तेलको स्थान अनिश्चित बन्दै गएको थियो। त्यसैले होला मुख्य प्रशिक्षकले मोन्टी देसाईंले पछिल्लो समय त्यो स्थान अनिलकुमार साहलाई सुम्पिएका थिए।

अनिल र आसिफ शेखबीच ओपनिङमा राम्रो जुगलबन्दी हुँदा कुशलले आफ्नो स्थान गुमाउन पुगे। त्यसैले ओमान, नेपाल र क्यानडा सम्मिलित त्रिकोणात्मक शृंखलामा उनी कहिले मध्येक्रममा ब्याटिङ गर्न उत्रिए त कहिले तल्लो क्रममा। त्यसमा पनि सफलता पाउन नसकेका कुशललाई देसाईंले अमेरिकाविरुद्धको तीन ट्वान्टी–२० आई शृंखलामा तीन नम्बरको जिम्मेवारी दिएका थिए। उक्त जिम्मेवारीमा उनी फिट देखिए र नेपाल शृंखला ‘क्लिन स्विप’ गर्न सफल भयो।

सोमबार बिहान भएको खेलमा नेपालले घरेलु टोली अमेरिकालाई आठ विकेटले पराजित गर्दै ३–० ले जितेको हो। नेपालले पहिलो खेल १७ रन र दोस्रो खेल सुपर ओभरमा जित्दै शृंखला एक खेलअगावै आफ्नो नाममा लेखाइसकेको थियो। तर, उक्त शृंखलामा आफ्नो बनाउन कुशलको ब्याटिङ नेपालका लागि महत्त्वपूर्ण बन्यो। उनले शृंखलाका तीन खेलमा सर्वाधिक १४२ रन बनाए।

डालसमा भएको शृंखलाको पहिलो खेलमा कुशल चल्न सकेनन्। उनी १० रनमै पभेलियन फर्किए। तर, दोस्रो खेलमा भने सानदार लय समात्दै उनले पाँच महिनापछि पहिलोपल्ट अर्धशतकीय इनिङ्स खेले। पछिल्लोपल्ट हङकङमा भएको पपुवा न्युगिनीलाई ८५ रनले हराउँदा उनले ५९ रनको योगदान दिएका थिए। त्यसयता भने कुशलले त्यस्तो प्रदर्शन देखाउन सकेका थिएनन्। तर, पपुवा न्युगिनीसँग भन्दा खुलेर खेलेका उनी अमेरिकाविरुद्ध क्रिजमा उत्रिँदा नेपाल २.४ ओभरमा १–११ को स्थितिमा थियो।

एकतर्फबाट लगातार विकेट गइरहँदा उनले धैर्य नगुमाई खेले र अविजित ९२ रनको योगदान दिए। उक्त खेलमा नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाउँदा उनको त्यो इनिङ्स महत्त्वपूर्ण साबित भएको थियो। किनभने त्यही खेलमा आन्द्रेस गसले ७० रनको अविजित इनिङ्स खेल्दै खेल सुपर ओभरमा पुर्‍याएका थिए। उक्त खेल जित्न नेपालले सुपर ओभरको सहारा लिएको थियो। तर, सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याउने क्रममा पनि कुशलले एक रनको योगदान दिएका थिए। उनी उक्त खेलमा ‘प्लेयर अफ द म्याच’ भएका थिए। तेस्रो तथा अन्तिम खेलमा पनि उनै कुशल महत्त्वपूर्ण साबित भए।

हुन त १५७ रनको लक्ष्य पछ्याएको नेपालले अघिल्लो खेलमा जस्तो राम्रो सुरुआत गर्न सकेको थिएन। अनिल व्यक्तिगत १३ रनमै जसदीप सिंहबाट एलबिडब्लु आउट भएपछि नेपाललाई ब्याटिङ अलिक सकसपूर्ण बनेको थियो। अर्का ओपनर आसिफले पनि खुलेर खेल्न सकेका थिएनन्। तर, पुनः तेस्रो नम्बरमा आएका कुशलले नेपालको इनिङ्स उकास्न ३२ बलमा दुई चौका र एक छक्कासहित अविजित ४० रनको योगदान दिए। उनले अर्धशतक बनाएका आसिफ शेखसँग ५० रनको साझेदारी गरे। त्यस्तै, चौथो नम्बरमा आएका कुशल मल्लसँग ७४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए।

यो शृंखला सकिएसँगै नेपालले अमेरिकामै हुने आइसिसी विश्वकप छनोट लिग– २ को सुरुआत गर्नेछ। अघिल्ला आठमध्ये एक खेल मात्रै जित हात पारेको नेपाललाई अमेरिका र स्कटल्यान्डले चुनौती दिनेछ। लिग–२ मा अमेरिका आठमध्ये ६ खेल जित्दै १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। स्कटल्यान्डको पनि नेपालको भन्दा ६ अंक बढी छ। यस्तो अवस्थामा नेपाललाई यही शृंखलामार्फत पुनरागमन गर्नुपर्ने दबाब थपिएको छ। त्यसैले मुख्य प्रशिक्षक देसाई कुशलबाट यस्तै सशक्त प्रदर्शनको आशामा हुनेछन्।

प्रकाशित: ६ कार्तिक २०८१ ०७:२३ मंगलबार

#nepal cricket #kushal bhurtel