मोरङ – विमल पाण्डेले दोस्रो हाफमा गरेको एउटै गोल निर्णायक बनेपछि राष्ट्रिय लिगको प्रतिद्वन्द्वी झापा ११लाई निराश पार्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शुक्रबार विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।
विमलले ६९औं मिनेटमा गरेको एउटै गोल शुक्रबार साँझ सहिद रंगशालामा सम्पन्न सेमिफाइनलमा आर्मीको जितका लागि पर्याप्त बन्यो । कप्तान भरत खवासको कर्नरलाई विमलले हेडबाट गोलमा परिणत गरेका थिए । गत महिना झापामा सम्पन्न तेस्रो झापा गोल्डकपको फाइनलमा घरेलु टोली झापा११ लाई पराजित गर्दै आर्मीले उपाधि उचालेको थियो।
सोमबार हुने फाइनलमा आर्मीले सहिद स्मारक ‘ए’ डिभिजन लिगका प्रतिद्वन्द्वी रुस्लान थ्री स्टार वा सिएमजी क्लब संकटासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार र संकटाबीच शनिबार दोस्रो सेमिफाइनल हुनेछ।
शुक्रबार आर्मीको जितमा निर्णायक गोललाई अवसर सिर्जना गर्ने कप्तान भरत खवास खेलको म्यान अफ दी म्याच भए । उनले पुरस्कारस्वरुप १० हजार रुपैयाँ नगद पाए।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले विपक्षी टोलीको प्रशंसा गर्दै आफूले बनाएको रणनीतिअनुसार टोली प्रस्तुत हुँदा जित सम्भव भएको प्रतिक्रिया दिए । ‘झापा राम्रा खेलाडीले भरिएको उत्कृष्ट टोली हो । तथापि हामीले उनीहरुको टिममा रहेका तीन विदेशी खेलाडीलाई विशेष मार्किङ गरेर खेल्ने रणनीति बनाएका थियौं । त्यहीअनुसार उनीहरुका विदेशी खेलाडीलाई च्यापेर खेल्दा नतिजा निकाल्न सम्भव भयो,’ न्यौपानेले जितपछि भने।
झापाका प्रशिक्षक प्रवेश कटुवालले गोलका अवसर धेरै पाए पनि उपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए । रेफ्रीको गलत निर्णयले खेलको नतिजा प्रभावित भएको उनको भनाई थियो । ‘खासमा त्यो बल आउट भइसकेको थियो । तर रेफ्रीले त्यही बललाई आर्मीको पक्षमा कर्नरको निर्णय गरे । त्यही कर्नरमा गोल भयो । रेफ्रीको एउटा गलत निर्णयले खेलको दृष्य परिवर्तन भयो,’ कटुवालले भने।
प्रकाशित: २४ चैत्र २०७४ ०३:४८ शनिबार