खेल

कैलाश स्मृति फुटबलमा फ्यूजनको विजयी सुरुवात

<br>

प्रतिस्पर्धा गर्दै फ्युजन र घरेलु टिमका खेलाडी। तस्बिर: महेश्वर

त्रियुगा नगरपालिका-४ बगहामा शनिबारदेखि सुरु ‘दोस्रो स्वर्गीय कैलाश राई (युवराज) स्मृति फुटबल प्रतियोगिता ०८१’ को दोस्रो दिनको खेलमा फ्युजन क्लब बोक्से त्रियुगा १० ले विजयी सुरुवात गरेको छ।

आइतबारको खेलमा आयोजक बगाहा युवा समूहलाई १–० गोलले पराजित गर्दै फ्युजनले विजयी यात्रा प्रारम्भ गरेको हो।

खेल सुरु भएको दोस्रो मिनटमै फ्युजनका खेलाडी दिवस राईले गोल गदै समूहलाई अघि बढाएका थिए। प्रतिस्पर्धी घरेलु टिम बगाहाबाट खेल अवधिभर कुनै गोल हुन नसकेपछि राईको सोही गोल अन्तिम र निर्णायक हुँदै टिमलाई विजयी बनाउन काफी भयो।

खेलको म्यान अफ द म्याच फ्युजनकै अमित मगर घोषित भए। उनलाई नगद १ हजार र प्रमाणपत्र पुरस्कार दिइयो। उदयपुर, सिराहा, सिन्धुली र सप्तरीका गरी ८ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा सोमबार चौदण्डीगढीस्थित बेल्टार एकता युवा समूह र सिन्धुलीको दुधौली स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ।

त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए। पहिलो दिन त्रियुगा नगरपालिका-८ राजाबासस्थित सगरमाथा फुटबल क्लबले आरवाईसी क्लब सिराहालाई पराजित गर्दै अघि बढेको थियो।

टाईब्रेकरमा धकेलिएको प्रतिस्पर्धामा सगरमाथाले आरवाईसीलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो।

प्रतियोगिताको विजेता टिमलाई ५१ हजार नगदका साथ ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै उपविजेताले ३१ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्षले बताए।

जिल्ला फुटबल संघ (एन्फा) उदयपुरको समन्वयमा बगाहा युवा समूहले प्रतियोगिताको आयोजना गरेको हो।

बगाहाका युवा तथा लोकप्रिय खेलाडी कैलाश राईको अल्पायुमै असामयिक निधन भएपछि उनको स्मृतिमा गतवर्षदेखि प्रतियोगिता हुँदै आएको छ।

त्रियुगा नगरपालिकाका विद्युत् कर्मचारीसमेत रहेका खेलाडी राईको विद्युत् मर्मत गर्ने क्रममा गत वर्ष करेन्ट लागेर निधन भएको थियो। उनको स्मरणमा परिवार र स्थानीय क्लबले एन्फाको साझेदारीमा वर्षेनी प्रतियोगिता आयोजना गर्न थालेको बगाहा युवा क्लबका अध्यक्ष सुरेन्द्र राईले बताए।

प्रकाशित: ४ कार्तिक २०८१ २०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App