खेल

हलेसी तुवाचुङमा बोसे कप फुटबल हुने

नजिकिएको तिहारको अवसर पारेर खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बोसे–आराखा (बङ्गुर–रक्सी) कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। किरात युवा समाज हलेसीको आयोजनामा नगरपालिकाको ५ नं. वडा दुर्छिमस्थित गणेशटारमा ‘बोसे–आराखा  कप नकआउट फुटबल प्रतियोगिता ०८१’ हुन लागेको हो।

आयोजक क्लबका खेल व्यवस्थापक अञ्जिलहाङ राईका अनुसार अघिल्लो वर्षको तिहारदेखि सुरु भएको प्रतियोगिताको यो दोस्रो संस्करण हो। कात्तिक ६ गतेदेखि सुरु हुने वडा स्तरीय प्रतियोगिताको फाइनल खेल ९ गते हुने उनले बताएका छन्। प्रतियोगितामा नगरपालिकाका १० वटै वडाका खेलाडी समूहलाई सहभागी गराइने पनि राईले बताएका छन्।

प्रतियोगिता विजेता टिमलाई २० हजार मूल्य बराबरको सुँगुर (बोसे)सहित २ कठुवा रक्सी (आराखा) र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै उपविजेताले १५ हजार मूल्य पर्ने बोसे, २ कठुवा आराखा र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। सहभागी टोलीलाई रित्तो नफर्काउने उद्देश्यले सेमिफाइनलसम्म पुग्ने टिमलाई २ हजार ५ सय बराबरको भाले (वापा) र २ कठुवा आराखासँगै प्रमाणपत्र दिइनेछ भने विधागत खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

युवाहरूलाई खेलकुदमार्फत विकास, अनुशासन र गतिशील बनाउँदै किराँती समुदायको पहिचान र संस्कार संस्कृतिको उजागर गर्ने उद्देश्यले प्रतियोगिताको नाम किराँती भाषामा ‘बोसे–आराखा कप’ राखिएको आयोजक समाजले जनाएको छ। यसले किरात संस्कार संस्कृति, भाषा र पहिचानको विकाससँगै स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। 

प्रकाशित: २ कार्तिक २०८१ १४:३६ शुक्रबार