खेल

‘पहलमान’ छान्न ठेलो फाल्ने खेल

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत म्याग्दीको ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल हो।

विस १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ। समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित ताकमकोट बाइसे चौबिसे राज्यका पालमा हालको धवलागिरी र मालिका गाउँपालिकाको केही वडाको राजधानी थियो।

बाइसे चौबिसे राजाले हरेक वर्षको वडादसैँको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेम्म पनि निरन्तरता दिइएको छ।

ताकमकोतमा आयोजना हुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुष्ट र अग्लो शरीर भएका बलियाबाङ्गा युवाहरूको पुर्खौ अघिदेखिको शोख भएको ताकमकोत संरक्षण व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए।

“ठेलो फाल्ने यस क्षेत्रका युवाहरूमाझ लोकप्रिय खेल भए पनि ताकमकोतको ठेलोमा जित्नेको छुट्टै महत्त्व र पहिचान हुने भएकाले यसलाई युवाहरूले प्रतिष्ठाको विषय बनाउने गरेका छन्”, उनले भने, “तत्कालीन थापा राजाका पालामा सुरु भएको माल पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलनलाई अहिले पनि निरन्तरता दिएका छौँ।”

माललाई फेता गुटाएर काँधमा बोकेर गाउँ परिक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ। मेला महोत्सव र सभासमारोहमा मालको उपमा दिएर सम्बोधन गर्ने गरिन्छ। पहिले ताकमकोतको ठेलोमा प्रतिस्पर्धा जनाउनेहररू बर्खामा लेकको बुकीका गोठमा गएर दूध, दही, घ्यू खाने चलन रहेको बुढापाका बताउँछन्।

जसले नवौँ पटक जिते प्रतियोगिता

ताकमकोतको यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जितेका छन्। सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले नवौ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास रचेका हुन्। आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो।

खत्रीबाहेक हालसम्म नौ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य तेजिन्द्र बहादुर थापाले बताए।

“प्रतियोगितामा ताकम र आसपासका गाउँका ३२ जना युवाले सहभागिता जनाएका थिए”, थापाले भने , “पश्चिम म्याग्दीको महत्त्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ।”

विस २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा भने सहभागिता जनाएनन्। विसं  २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित भएका थिए। निरन्तरको अभ्यास, शारीरिक व्यायम र सन्तुलित खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताए। 

“विंस २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुगेर सफल भएको थिइन”, उनले भने, “गत वर्ष एक महिनादेखि तयारी गरेको थिए। यसपालि विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि तयारी नभए पनि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको थिए। एकै पटकमा अरूले भन्दा टाढा ठेलो फाले। सोख पूरा भएकोमा खुसी छु।”

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उमेद्वार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुभव छ। भलिबल र बास्केटबलका खेलाडी समेत रहेका स्नातक तहको शिक्षा हासिल गरेका खत्री नेकपा (माओवादी केन्द्र)को वडा कमिटिका अध्यक्ष पनि हुन्। जनप्रतिनिधिको जिम्मेवारी पूरा गरेपछि खेल प्रशिक्षक बन्ने खत्रीको लक्ष्य छ।

खत्रीलाई गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुन, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याल लगायतले फेता गुटाएर सम्मान गरेका थिए।

स्थानीयबासीहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित गाउँ परिक्रमा गराएका थिए। महानवमी पर्वको अवसरमा परम्परागत चलनअनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुर्ख्याैली नाच र हिलापोखरीका कलाकारहरूले नौमती बाजा प्रस्तुत गरेका थिए। 

प्रकाशित: २८ आश्विन २०८१ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App