खेल

पहिलो टेस्टमा पाकिस्तानविरुद्ध इंल्यान्डको शानदार जित

इंल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्टमा फराकिलो जित हात पारेको छ । 

पाकिस्तानलाई दोस्रो इनिङ्समा मात्र २२० रनमा अलआउट गर्दै इंल्यान्डले पहिलो टेस्टमा एक इनिङ्स र ४७ रनको जित निकालेको हो ।

६ विकेटको क्षतिमा १५२ रनबाट शुक्रबार पाँचौ दिनको खेल थालेको पाकिस्तान थप १७.४ ओभरमात्र क्रिजमा रहन सक्यो । उसका लागि सलमान आघाले ६३ र अमिर जमालले ५५ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा नमिठो हार भोग्न बाध्य भयो । 

पाकिस्तानलाई सस्तैमा समेट्न ज्याक लिचले ४ विकेट लिए । पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएको थियो ।  

इंल्यान्डले भने पहिलो इनिङ्स ७ विकेटको क्षतिमा ८२३ रनमा डिक्लियर गरेको थियो । यो टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक चौथो ठुलो योगफल हो । भारतविरुद्ध श्रीलंकाले सन् १९९७ मा बनाएको ९५२ रनको योगफल अहिलेसम्मकै सर्वाधिक स्कोर हो । दोस्रो र तेस्रो उच्च योगफल पनि इंल्यान्डकै नाममा छ ।  

घरेलु टोली पाकिस्तानविरुद्ध मुल्तानमा हेरी ब्रुकले ३१७ र जोए रुटले २६२ रन बनाए ।  

फराकिलो जितपछि पाकिस्तानविरुद्धको तीन खेलको सिरिजमा इंल्यान्डले १-० को अग्रता बनाएको छ । दोस्रो टस्ट अक्टोबर १५ मा सुरु हुनेछ ।  

प्रकाशित: २५ आश्विन २०८१ १२:४९ शुक्रबार

#England_Pakistan #Joe Root #Harry Brook