खेल

शलेस फुटबलको उपाधि दुधौली स्पोर्ट्स क्लबलाई

कटारीमा सम्पन्न ‘दोस्रो शलेस नकआउट फुटबल प्रतियोगिता ०८१’ को उपाधि सिन्धुलीको दुधौली स्पोर्टस् क्लबले हात पारेको छ।

कटारी नगरपालिका ५ भोर्लेमा बुधवार सम्पन्न फाईनल खेलमा सिन्धुलीकै बागमती प्रदेश प्रहरी तालिम केन्द्रलाई हराउँदै दुधौली उपाधि कब्जा गर्न सफल भएको हो।

स्वर्गीय पशुपति गिरीको स्मृतिमा उनको परिवारद्वारा प्रायोजित शलेस कप खुल्ला नकआउट फुटबलमा प्रहरीलाई हराउन दुधौलीलाई शून्यका विरुद्ध १ गोल गर्दा पुग्यो। मध्यान्तरअघि नै दुधौलीका खेलाडी सरोज राउतले गरेको पहिलो गोल नै अन्तिम हुँदै उपाधि चुम्न काफी भयो।

उपाधिसँगै विजेता दुधौलीले नगद ७१ हजार १ रुपैंयाका साथ ट्रफि, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेको छ भने उपविजेता प्रहरीले नगद ५१ हजार १ रुपैंया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ।

विजेता र उपविजेता टिमहरुलाई उदयपुर प्रतिनिधिसभा निर्वाचनक्षेत्र २ का सदस्य अम्बर रायमाझी र कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले पुरस्कार, ट्रफि तथा प्रमाणपत्र प्रदान गरे।

असोज ९ गतेदेखि सुरु भएको खेल २३ गते सकिएको हो। दुधौलीका खेलाडीहरु अनिल मगर उत्कृष्ट गोलरक्षक भए भने उत्कृष्ट खेलाडी अमन लामा, उत्कृष्ट डिफेण्डर ऋतिक श्रेष्ठ र म्यान अफ द म्याच सरोज राउत घोषित भए।

सर्वाधिक गोलकर्ताको उपाधि भने प्रहरीतर्फका भोला माझीले पाए। आयोजक शलेसका विवेक विश्वकर्मा र दिलिप श्रेष्ठ उदीयमान खेलाडी घोषित भए। विधागत पुरस्कार जित्नेहरुलाई कटारी नगरपालिकाका उपमेयर गीता खड्काले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्। प्रतियोगितामा उदयपुर र सिन्धुलीका गरी १६ टिमले प्रतिस्पर्धा गरेको आयोजक शलेस क्लबका अध्यक्ष देवान बुढाथोकीले बताए। 

प्रकाशित: २४ आश्विन २०८१ १५:२२ बिहीबार

#dudhauli sports club #udaypur