खेल

विलियम्सनले पहिलो टेस्ट गुमाउने

केन विलियम्सन

न्युजिल्यान्डका पूर्वकप्तान तथा अनुभवी ब्याटर केन विलियम्सनले भारतविरुद्ध टेस्ट शृंखलाको पहिलो खेल गुमाउने भएका छन्।

न्युजिल्यान्डले आगामी अक्टोबर १६ तारिखदेखि भारतसँग टेस्ट शृंखला सुरु गर्दै छ। उक्त शृंखलाको पहिलो खेलमा अनुभवी ब्याटर विलियम्सन हुने छैनन्। उनी श्रीलंकाविरुद्धको दोस्रो टेस्टका क्रममा घाइते भएका थिए। न्युजिल्यान्डले घरेलु टोली भारतसँग तीन खेलको टेस्ट शृंखला खेल्न लागेको हो।

न्युजिल्यान्ड क्रिकेट बोर्डले टम लाथमको कप्तानीमा टोली घोषणा गरिसकेको छ। युवा ब्याटर मार्क च्यापम्यान पहिलोपल्ट टेस्ट टोलीमा समेटिएका छन्। उनी एक समय एसोसिएट क्रिकेट हङकङबाट खेल्ने गर्थे। उनले सन् २०१४ को ट्वान्टी–२० विश्वकप हङकङबाट खेलेका थिए।

सन् २०१८ देखि भने उनी न्युजिल्यान्डको टोलीमा समावेश भएका हुन्। सोही वर्ष ट्वान्टी–२० र एकदिवसीय क्रिकेटका लागि न्युजिल्यान्डको टोलीमा स्थान बनाएका च्यापम्यानले टेस्ट क्रिकेट पनि खेल्ने भएका छन्। न्युजिल्यान्डको टोलीमा टम लाथम (कप्तान) र टम ब्लेन्डेल विकेटकिपरमा छन्।

टिम साउथीको कप्तानीमा न्युजिल्यान्डले घरेलु टोली श्रीलंकासँग २–० ले हार बेहोरेपछि लाथमले कप्तानी जिम्मेवारी पाएका हुन्। श्रीलंकासँग नै शृंखला गुमाएको अवस्थामा भारतविरुद्ध अनुभवी विलियम्सन सुरुआती खेलमा नहुनुले न्युजिल्यान्ड दबाबमा पर्नेछ।

श्रीलंकाविरुद्ध रन बटुल्न संघर्ष गरेको न्युजिल्यान्डले भारतविरुद्ध पनि दबाब बेहोर्नेमा दुई मत छैन। न्युजिल्यान्डका छनोटकर्ता साम वेल्सले पहिलो खेल गुमाए पनि दोस्रो खेलबाट उनी शृंखलामा उपलब्ध हुने बताएका छन्।

‘उनलाई पहिलो खेलमा आराम दिनुपर्ने सुझाव आएको थियो। सोहीअनुरूप सुरुआतमा हुने छैनन्,’ उनले भने, ‘विलियम्सन पहिलो खेलदेखि नै नहुँदा समस्या हुनेछ। तर, हाम्रो योजनाअनुरूप नै हुनेछ भन्ने आशा गरेका छौं।’

विलियम्सन पहिलो खेलमा नहुँदा उनको स्थानबाट च्यापम्यानले खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गर्ने सम्भावना पनि छ। च्यापम्यानले न्युजिल्यान्डको क्रिकेटबाट ६ वटा फस्र्ट क्लास क्रिकेट खेलेका छन्।

उनले भारत ‘ए’ सँग २०२० मा पनि शतक प्रहार गरेका थिए। त्यसैले पनि उनी भारतविरुद्ध पहिलो खेलमा खेल्ने सम्भावना छ। न्युजिल्यान्डको टोलीमा माइकल ब्रेसवेल (पहिलो टेस्टमा लागि मात्र), मार्क च्यापम्यान, डिभोन कोन्वे, म्याट हेनरी, ड्यारिल मिचेल, विलियम ओरुर्क, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल स्यान्टनर, बेन सियर्स, इश सोढी (दोस्रो र तेस्रो टेस्टका लागि), टिम साउथी, केन विलियम्सन र विल योङ छन्।  

प्रकाशित: २४ आश्विन २०८१ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App