खेल

अन्तर्राष्ट्रिय बुद्धिचाल यसै महिना

काठमाडौं – होमल्यान्ड स्पोर्टस क्लब नेपालको आयोजनामा सर्बाधिक पुरस्कार राशीको ‘काठमाडौं खुला अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर बुद्धिचाल प्रतियोगिता’ हुने भएको छ।

क्लबले बिहीबार पत्रकारमा जानकारी गराएअनुसार चैत २९ देखि वैशाख ४ गते सम्म काठमाडौंमा हुने प्रतियोगितामा पुरस्कारका लागिमात्र १० हजार डलर व्यवस्था गरिएको छ। प्रतियोगितामा १५ देशका च्याम्पियन तथा पूर्व च्याम्पियनलगायतका स्टार खेलाडीहरुको सहभागिता रहने आयोजक क्लबका प्रकाश अधिकारीले जानकारी गराए।

उनका अनुसार प्रतियोगितामा अमेरिका, अस्ट्रेलिया, स्पेन, रुस, इजरायल, अजरबैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, बंगलादेश, मलेसिया, भियतनाम र केन्याका गरी १ सय विदेशी तथा नेपालका ८० गरी जम्मा १ सय ८० खेलाडीको सहभागिता रहनेछ।

स्विस लिग प्रणालीमा ९ चरणसम्म चल्ने प्रतियोगितामा विभिन्न देशका गरी १२ जना ग्रान्ड मास्टर, १४ जना इन्टरनेसनल मास्टर, १० जना फिडे मास्टर र १० जना क्यान्डिडेट मास्टरले सहभागिता जनाउने बताइएको छ। यस्तै, नेपालबाट पनि वर्तमान तथा पूर्व राष्ट्रिय च्याम्पियन एवं ओलम्पियाड खेलाडीलगायतका शीर्ष खेलाडीहरुले सहभागिता जनाउनेछन्।

प्रतियोगिताको च्याम्पियनले नगद २ हजार डलर हात पार्नेछ। यस्तै,  शीर्ष २० भित्र पर्नेले रेटिङका आधारमा पुरस्कार पाउनेछन भने विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने अध्यक्ष अधिकारीले पत्रकार सम्मेलनमा  जानकारी दिए।

प्रतियोगिता सञ्चालन गर्न नेपाल लगायत भारत, बंगालदेश र श्रीलंकाका अन्तर्राष्ट्रिय आर्बिटर (निर्णायक) हरुको उपस्थिति हुनेछ।   प्रतियोगिता इन्टरनेशनल मास्टर तथा ग्रान्ड मास्टर बन्न आवश्यक पर्ने ‘नर्म सर्टिफिकेट’ प्राप्तिका लागि सहयोग हुने भएकाले निकै महत्वका साथ उल्लेख मात्रमा विदेशबाट खेलाडीहरुको उपस्थिति रहने आयोजकले बतायो।

यस्तै, सोही अवसरमा होमल्यान्ड स्पोर्टस क्लब र केएनपी जापान प्रालिबीच प्रतियोगिता प्रयोजनका लागि ३ वर्षको सम्झौता भयो। केएनपी प्रालिका कन्ट्री डाइरेक्टर मनोजकुमार मिश्र र क्लबका अध्यक्ष अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे। मुख्य प्रायोजक रहेको केएनपीले क्लबलाई प्रत्येक वर्ष प्रतियोगिता गर्न २२ लाख रुपैयाँ उपलब्ध गराउने कन्ट्री डाइरेक्टर मिश्रले जानकारी दिए।

प्रकाशित: २३ चैत्र २०७४ ०४:११ शुक्रबार

अन्तर्राष्ट्रिय बुद्धिचाल यसै