खेल

बागमती प्रहरी उपाधि नजिक

सिन्धुलीस्थित बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली कटारीमा जारी सलेश नकआउट फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

सोमबार दिउँसो भएको पहिलो सेमिफाइनलमा सिन्धुलीकै जनउत्थान क्लब डकालाई पराजित गर्दै प्रहरीले फाइनलको यात्रा तय गरेको हो।

फाइनलमा पुग्न प्रहरीले डकाहालाई टाई ब्रेकरमा ५–४ ले पराजित गरेको हो। दुवै टोलीबाट ३–३ गोल भएपछि खेलको छिनोफानो टाई ब्रेकरबाट गरिएको हो। मध्यान्तरअघि नै तीन गोल गरेर हौसिएको डकाहा दोस्रो हाफ भरी निरीह देखियो। उता दुई गोल गर्न सफल भएको विपक्षी प्रहरीले इज्युरी समयको सदुपयोग गर्दै एक गोल थपेपछि खेल टाई ब्रेकरमा धकेलिन पुग्यो।

स्वर्गीय पशुपति गिरीको स्मृतिमा उनको परिवारको प्रायोजनमा असोज पहिलो सातादेखि सुरु प्रतियोगितामा नकआउट राउन्ड र क्वाटर फाइनल जित्दै सेमिफाइनलसम्म पुगेको डकाहा यो हारसँगै मैदान छाड्न बाध्य भएको छ।

डकाहा टोलीलाई कटारी ५ का वडाध्यक्ष मोहन तामाङ र आयोजक क्लबले मायाको चिनो प्रदान गर्दै बिदाइ गरे। विपक्षीको दबदबाबिच एक्लैले ह्याट्रिक गरेका प्रहरीका भोला माझी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले एक हजार पाँच सय रुपैयाँसँगै ट्रफी प्रदान गरे।

बुधवार हुने अन्तिम सेमिफाइनलमा दुधौली स्पोट्रस् सिन्धुली र मुनाल फुटबल क्लब उदयपुरबिच भिड्ने छन्।२३ गते फाइनल हुने प्रतियोगिताको विजेता टोलीले ७१ हजार एक रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यसैगरी उपविजेतालाई ५१ हजार एक रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष देवान बुढाथोकीले जानकारी दिए। 

प्रकाशित: २२ आश्विन २०८१ १९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App