नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ।
कात्तिक १ देखि १४ गतेसम्म नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै सातौं संस्करणको तयारी पूरा भएको जनाएको छ।
लगातार तेस्रो संस्करणमा नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो। यसअघि बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ। सातौं संस्करणमा पाकिस्तान सहभागी नहुने चर्चा चलेको थियो।
यद्यपि, अहिलेसम्म त्यसबारे कुनैपनि जानकारी नआएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित मालदिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा छ। यो समूहमा श्रीलङ्का मालदिभ्स र भुटान गरी चार राष्ट्र छन्। अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साबिक विजेता बङ्गलादेशले प्रतिस्पर्धा गर्ने तय छ।
च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दै छन्। आयोजक नेपालले भने कात्तिक २ गते भुटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ।
हालसम्म नेपालले पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन। महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो। भारतले पाँच पटक उपाधि उचाल्दा गत संस्करण मात्र बङ्गलादेशले जितेको छ। घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गरिरहेको छ।
भर्खर एन्फा महिला लिगको पहिलो चरण पूरा भएको छ। सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो। त्यो टोलीबाट मंगलवार मात्र २७ खेलाडी छनोट भएका छन्।
एन्फाको प्रतियोगिता संयोजक सञ्जीव मिश्रले यसअघि विश्वकप छनोट चरणका खेल नहुनुका साथै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलमा पारो एएफसी र चर्च ब्वाइजबीचको प्रतिस्पर्धाका क्रममा दशरथ रङ्गशालाको अवस्थाबारे भएको आलोचना नदोहोरिने बताए।आगामी २७ गते म्याच कमिसनर आउने र त्यसअघि नै मैदान र अन्य आवश्यक पक्षबारे राम्रोसँग तयार हुने मिश्रको भनाइ छ। उनले यसपल्ट उत्कृष्ट मैदान र वातावरण दिन तयार रहेको बताए।
विदेशमा लिग खेलिरहेका रेखा पौडेल र सावित्री भण्डारीले पनि साफ च्याम्पियनसिप खेल्ने मिश्रले बताए। यसबारे खेलाडीसँग पनि कुराकानी भइरहेको उनको भनाइ छ। प्रतियोगिता हुनुभन्दा तीन दिन अगाडि रिलिज हुने उनको विश्वास छ।
यस च्याम्पियनसिपमा सहभागी टोलीलाई एन्फा मुख्यालय, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान तथा सेन्ट जेभियर्सको खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको एन्फाले उल्लेख गरेको छ। यस च्याम्पियनसिपको अनुमानित बजेट चार करोड ६० लाख ८०० रुपैयाँ छ।
प्रकाशित: २२ आश्विन २०८१ १५:१२ मंगलबार