खेल

खराब प्रदर्शनका बावजुद टेन हाग सहज

डच प्रशिक्षक इरिक टेन हागलाई आफ्नो टोली म्यानचेस्टर युनाइटेडको लगातार खराब प्रदर्शन बावजुद धेरै सहज छ। ‘हामी सबै एउटै डुङ्गामा छौं,’ इङ्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग गोलरहित बराबरीपछि पनि क्लबका नेतृत्वसँग आफ्नो सम्बन्धबारे म्यानचेस्टर युनाइटेडका प्रशिक्षक टेन हागले दिएको प्रतिक्रिया हुन् यी।

अबको केही दिनमा पनि उनले यही किसिमको महसुस गर्छन् या गर्दैनन् भन्ने बारे हेर्न बाँकी हुनेछ। दुई हप्ताको अन्तर्राष्ट्रिय ब्रेकपछि युनाइटेड सबै प्रतिस्पर्धामा गरेर पाँच खेलमा जितविहीन छ। हाल लिगको १४औं स्थानमा रहेको युनाइटेडले सुरुआती सात खेलमा दुई खेल मात्र जितेको छ। भिल्ला पार्कमा टेन हागमाथि धेरै दबाब थिए। किनकि त्यहाँ युनाइटेडका प्रमुख लगानीकर्ता जिम र्‍याट्सक्लिफ पनि उपस्थिति रहेकाले एस्टन भिल्लाविरुद्ध जित निकाल्नका लागि उनलाई दबाब थियो। तर, गत शुक्रबार मात्र डच प्रशिक्षक टेन हागमाथि धेरै विश्वास रहेको प्रतिक्रिया दिएका जिमले त्यहाँ जित हेर्न भने पाएनन्।

तथापि, भिल्लामा एक अंक भए पनि प्राप्त हुँदा टेन हागप्रतिको विश्वासमा जिमका लागि केही मात्रामा सुखद नै रह्यो। तर, यो नतिजा स्वयम् डच प्रशिक्षकका लागि भने पर्याप्त हुने छैन। विशेषत युनाइटेडका नयाँ नेतृत्वले अर्को हप्ताको खेलअगाडि टेन हागको भविष्यबारे सोच्नुपर्नेछ। ‘के काम गरिरहेका छौं भन्ने हामी सबैलाई थाहा छ। यो दीर्घकालीन योजना हो र हामीले आफ्ना प्रक्रियामा विस्तारै सुधार गर्दै लानुपर्छ,’ टेन हागले भनेका छन्। क्लबका मालिक जिम र युनाइटेडका अन्य परिवारका लागि भिल्ला पार्कमा केही सुखद अवसर पनि सिर्जना भएका थिए। तर, ६८औं मिनेटमा ब्रुनो फर्नान्डेजको फ्रिकिक क्रस बारमा ठोकिँदा युनाइटेड गोल अवसरबाट चुक्यो।

तथापि, च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई हराएको चार दिनपछि नै एस्टनले युनाइटेडमाथि पनि दबाब सिर्जना गरेको थियो। युनाइटेडले राम्रो डिफेन्स गर्दै एक अंक प्राप्त गर्‍यो। युरोपा लिगमा पोर्टोसँग ३–३ को बराबरीपछि नै युनाइटेडले फेरि बराबरीकै नतिजा सामना गरेको हो। गत हप्ता मात्र टोटेनहमसँग ३–० को लज्जास्पद हारपछि युनाइटेडले केही सुधार भने गरेको छ। ‘दुई कठिन अवे खेलमा हामी कस्तो टिम भन्ने हामीले प्रमाणित गरेका छौं,’ टेन हागले भने, ‘खेलाडीहरूको स्पिरिटका साथै आफूमा भएको विश्वास उनीहरूले देखाएका छन्।’

लय गुमाएको टोटेनहम

तर, यसपल्ट भने टोटनहमले पूर्णतय खराब देखियो र लय समाउन सकेन। पहिलो हाफमा २–० को अग्रता बनाएको टोटेनहमले दोस्रो हाफको १८ मिनेटभित्र नै तीन गोल बेहोरेपछि ब्राइटनमा ३–२ को नतिजा सुम्पिन पुग्यो। ‘यो हार निकै दुःखलाग्दो छ। यो खेलमा हामीले धेरै खराब पक्षमा सामना गर्नुपर्‍यो, ’टोटेनहमका प्रशिक्षक एन्ज पोस्टेकोग्लुले भने। ब्राइटनका लागि यानकुबा मिन्टेह, जर्जिनियो रुटर र डेनी वेलबेकले गोल गरेका थिए।

ब्राइटनले पहिलो हाफमा टोटेनहमबाट धेरै दबाब सामना गरेको थियो, जुन गत हप्ता चेल्सीसँग ४–२ ले पराजित हुँदाको प्रदर्शन जस्तै रह्यो । तर, टोटेनहमका लागि राइट विङ्गर बे्रनान जनसनले लगातार छैटौं खेलसम्म गोल गरेका थिए । प्लेय मेकर जेम्स म्याडिसनले अर्को गोल गरेका हुन्। तर पनि टोटेनहममा पुरानो अवस्था आयो र फेरि उसले हार सामना गर्नुपर्‍यो। ‘म आएपछि यो सबैभन्दा खराब हार हो,’ टोटेनहममा दोस्रो सिजन बिताएका पोस्टेकोग्लुले भने। यो जितपछि ब्राइटन छैटौं स्थानमा उक्लिँदा टोटेनहम भने नवौं स्थानमा झरेको छ।

त्यस्तै चौथो स्थानको चेल्सीले पनि नटिङ्घम फरेस्टसँग १–१ को बराबरी नतिजा सामना गर्नुपर्‍यो। स्टामफर्ड ब्रिज मैदानमा ५७औं मिनेटमा नोनी मेडुइकेले गोल गरेपछि चेल्सीले बराबरी गरेको हो। त्यसअघि फरेस्टले आठौं मिनेमै क्रिस वुडको गोलबाट अग्रता लिएको थियो। ७८औं मिनेटमा जेम्स वार्ड प्राउज दोहोरो पहेँलो कार्ड सामना गर्दै बाहिरिएपछि फरेस्ट १० खेलाडीमा पनि सीमित हुन पुग्यो। तर, त्यसको फाइदा चेल्सीले लिन सकेन। यसै खेलमा पहेँलो कार्ड सामना गरेका मार्क कुकुरेलाले लिभरपुलसँगको आगामी खेल गुमाउने भएका छन्। अर्का चेल्सीका डिफेन्डर वेस्ले फोफनाले पनि पहेंलो कार्ड सामना गरेपछि उनले पनि एन्फिल्डमा हुने खेल गुमाउने भएका छन्। 

प्रकाशित: २२ आश्विन २०८१ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App