खेल

बहुप्रतीक्षित गुलसन

नेपाल प्रिमियर लिग (एनपिएल) मा कुल १२ क्रिकेटर अधिकतम मूल्यमा बिक्री हुँदा युवा अलराउन्डर गुलसनकुमार झा अक्सनमा बहुप्रतीक्षित बने।

आइतबार काठमाडौंमा भएको अक्सनमा ‘ए’ क्याटगोरीमा कुल २७ क्रिकेटर समावेश थिए। जहाँ ‘ए’ क्याटगोरीका क्रिकेटरका लागि न्यूनतम १० लाख र अधिकतम १५ लाख रूपैयाँ मूल्य निर्धारण गरिएको थियो। पछिल्ला समय उत्कृष्ट लयमा रहेका गुलसनमाथि बोली लगाउन अक्सनमा समावेश आठ फ्रेन्चाइजमध्ये सात टोली प्रतीक्षारत देखिए। लुम्बिनी लायन्सबाहेक सबै टोलीले उनीमाथि अधिकतम १५ लाख बोली लगाए। यस अघि नै लुम्बिनीले ‘ए’ क्याटगोरीका तीन क्रिकेटर किनेकाले गुलसनमाथि बोली लगाउन पाएन। अन्ततः सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले उनलाई लक्की ड्रमामार्फत प्राप्त गर्‍यो।

गुल्सनसँगै ‘ए’ क्याटागोरीका विस्फोटक ब्याटर लोकेश बम र अनिल साहमाथि पनि समान सात फ्रेन्चाइजले बोली लगाए। युवा विकेटकिपर तथा ब्याटर लोकेशलाई अधिकतम १५ लाख रूपैयाँमा लक्की ड्र बाट विराटनगर किङ्सले पायो। रूपेशमाथि पनि अधिकतम १० लाख रूपैयाको बोली लाग्यो। उनलाई लक्की ड्रबाट जनकपुर बोल्ट्सले पाएको हो। राष्ट्रिय टोलीका सदस्य अनिलमाथि लुम्बिनी लायन्सबाहेक अन्य टोलीले अधिकतम बोली लगाए। तर, जनकपुर बोल्ट्सले उनलाई लक्की ड्रबाट पायो। यससँगै जनकपुरसँग मार्की आसिफ शेख र अनिल गरी दुई राम्रा विकेटकिपर हुने भएको छ।

‘ए’ क्याटगोरीमा रहेका बलर हेमन्त धामी, ब्याटर अर्जुन साउद, अलराउन्डर सुनम गौतम दोस्रो चरणमा अधिकतम मूल्यभन्दा कममा बिक्री भएका हुन्। विकेटकिपर साउद लुम्बनी लायन्स, सुनम पोखरा एभेन्जर्स र हेमन्त जनकपुर बोल्ट्समा पाँच लाख रूपैयाँमा बिक्री भए। सबैभन्दा रोचक पहिलो चरणको अक्सनमा ब्याटर आकाश त्रिपाठी न्यूनतम पाँच लाखमा बिक्री हुन सकेका थिएनन्। तर, दोस्रो चरणमा भने उनीमाथि जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजले अधिकतम १० लाख मूल्य लगाए। त्यससँगै उनलाई लक्की ड्रमार्फत जनकपुरले पायो। यससँगै ‘ए’ क्याटगोरीका सबै क्रिकेटर बिक्री भए।

अधिकतम १५ लाख मूल्यमा फास्ट बलर प्रतीश जिसीलाई विराटनगर, स्पिनर ललित राजवंशीलाई जनकपुर बोल्ट्स, स्पिनर साहब आलमलाई काठमाडौं गोर्खाज, ब्याटर भीम सार्कीलाई काठमाडौं गोर्खाज, स्पिनर सूर्य तामाङलाई लुम्बिनी लायन्स, अलराउन्डर विवेक यादवलाई लुम्बिनी लायन्स, आक्रामक ब्याटर सन्दीप जोरालाई लुम्बिनी लायन्स, स्पिनर सागर ढकाललाई पोखरा एभेन्जर्स, मध्यक्रमका ब्याटर आरिफ सेखलाई सुदूरपश्चिम रोयल्सले किनेका हुन्। अक्सनमा सबैभन्दा बढी लुम्बिनी लायन्सले ८४.७५ लाख खर्च गर्‍यो भने सबैभन्दा कम चितवन राइनोजले ६३ लाख खर्च गरेको थियो। एउटा फ्रेन्चाइजले अधिकतम ९० लाख रूपैयाँ खर्च गर्न पाउने नियम थियो। सबै फ्रेन्चाइज टोलीले ‘ए’ क्याटगोरीबाट समान तीन जना, ‘बी’ बाट चार र ‘सी’ बाट तीन क्रिकेटर अनिवार्य किन्नुपर्ने नियम थियो। यी तीनै क्याटगोरीमा गरेर कुल १३६ खेलाडी अक्सनमा समावेश थिए। सबै टोलीमा मार्कीसहित ११ खेलाडी छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म आयोजना गर्दै छ। विराटनगरका मार्की स्पिनर सन्दीप, चितवन राइनोजका मार्की कुशल मल्ल, जनकपुर बोल्ट्सका आसिफ शेख, कर्णाली याक्सका सोमपाल, काठमाडौं गोर्खाजका करण केसी, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी हुन्। 

प्रकाशित: २१ आश्विन २०८१ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App