खेल

नेपाल प्रिमियर लिगको अक्सन जारी

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसो दुई बजेदेखि सोल्टी होटलमा सुरु भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अक्सनमा १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ।

आगामी मंसिर १५ देखि मंसिर ३० सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि असोज ५ गतेदेखि दर्ता प्रक्रिया सुरु गरिएको थियो। उक्त दर्ता प्रकृया असोज १२ गते बन्द भएको थियो।

अक्सनका लागि ४२३ खेलाडी दर्ता भएका थिए। त्यसमध्ये  प्रिमियर लिग समितिले १४२ खेलाडीलाई अक्सनमा सहभागी गराउने निर्णय गरिएको थियो। तर, केही खेलाडी छुटपुट पनि भएको भन्दै क्यानले अक्सनमा खेलाडी बढाएर राख्ने निर्णय गरेको हो।

यसअघि नै सार्वजनिक भइसकेको सूचीअनुसार ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी छन्। एनपीएलको तयारीमा जुटेको क्यानले टिमसहित मार्की खेलाडी टुंगो लगाइसकेको छ।

चितवन राइनोजमा कुशल मल्ल, लुम्बिनी लायन्समा रोहित पौडेल, काठमाडौं गुर्खाजमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, विराटनगर किंग्समा सन्दीप लामिछाने, जनकपुर रोयल्समा आसिफ शेख, कर्णाली याक्समा सोमपाल कामी र सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी छन्। 

उनीहरू हाल क्यानडा भ्रमणमा छन्।

प्रकाशित: २० आश्विन २०८१ १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App