खेल

चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिप: हिमाल र योङ्गीलाई स्वर्ण

चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपमा हिमाल विष्ट र योङ्गी पौडेलले शनिबार स्वर्ण जितेका छन्।

भैसेपाटीस्थित आयोजक नेपाल एपिएम टेबलटेनिस क्लबको हलमा सम्पन्न यु–१९ सिंगल्सको बोइजमा हिमाल र गल्र्समा योङ्गीले स्वर्ण जिते। दुवै होप्स टेबलटेनिस एकेडेमीका हुन्। 

बोइज फाइनलमा हिमालले यल टबेलटेनिसका विशाल गोलेलाई ७–११, १४–१२, ११–९, १२–१०, ५–११ र ११–२ को सेटमा पराजित गरे। होप्सका रितिम गुरुङ र यलका एलेन महर्जन तेस्रो भए। गल्र्सको उपाधि भिडन्तमा योङ्गीले भक्तपुरकी दिया देउलालाई ११–८, ११–९, ८–११, १२–१० र ११–८ को सेटमा हराइन्।

भक्तपुरकी सोनम ठाकुर र यलकी अंकिता बज्राचार्य तेस्रोे भए। तीनदिने प्रतियोगितामा कुल ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।

यसअघि यु–१० सिंगल्सको बोइजमा एपिएमका दिनेश बोहरा र गल्र्समा एपिएमकै आराध्या विष्ट तथा यु–१२ सिंगल्सको बोइजमा गोड स्पिन टेबलटेनिस एकेडेमीका रिभानमुनि बज्राचार्य र गल्र्समा प्रभातकी उरवी सुवालले स्वर्ण जिते। यु–१६ बोइज सिंगल्समा कीर्तिपुरका जयश्नु महर्जन तथा गल्र्समा भक्तपुरकी क्यारिना सुवालले स्वर्ण जिते। मिक्स टिम इभेन्टमा होप्स ‘ए’ च्याम्पियन भयो।

पदक विजेतालाई सिओम नेपाल, टाग्रो टेबलटेनिस कम्पनी र ल्याम्प एन्ड लाइट कम्पनीद्वारा प्रायोजित खेल सामाग्री र पोशाक पुरस्कार स्वरूप प्रदान गरिएको थियो। करिब १० लाख रूपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक उपलब्ध गराइएको आयोजकले जनाएको छ।

मिक्स टिम इभेन्टको विजेताले दुई लाख रूपैयाँ मुल्य बराबरको सियोम प्रो ९ टेबलटेनिस टेबल प्राप्त गरे। विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले पुरस्कृत गरेका थिए। 

प्रकाशित: २० आश्विन २०८१ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App