खेल

सिकागो म्याराथनमा शम्भुको चुनौती

भेट्रान धावक शम्भुप्रसाद दाहालले सिकागो म्याराथन चुनौती प्रस्तुत गर्ने भएका छन्। अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा ६३ वर्षे शम्भुले पुरुष खुला (४२.१९५ किलोमिटर दूरी) मा प्रतिस्पर्धा गर्ने भएका हुन्।

शम्भुले यसअघि विश्वका प्रतिष्ठितमध्ये लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथन दौडिसकेका छन्। ती चारै म्याराथन उनले पूरा गरेका छन्। चार घण्टा ४० मिनेटको समय शम्भुको व्यक्तिगत उत्कृष्ट समय हो। उनले बोस्टन म्याराथनमा यो समय कायम गरेका हुन्। 

सिकागो म्याराथनमा आफ्नो उत्कृष्ट टाइमिङमा १० मिनेट सुधार गर्दै चार घण्टा ३० मिनेटमा दौड पूरा गर्ने उनको लक्ष्य छ। शम्भु बुधबार अमेरिका प्रस्थान गर्दैछन्।

कठिन मानिने घरेलु म्याराथन एभरेस्ट म्याराथन र जुम्ला–रारा म्याराथनमा पनि उनले सहभागिता जनाइसकेका छन्। दक्षिण एसियाली खेलकुदका कीर्तिमान धावक बैकुण्ठ मानन्धर र टाटा ग्रुपका चेयरम्यान एनचन्द्र शेखरनबाट प्रभावित भएर ५८ वर्षको उमेरमा सन् २०१९ बाट दौडन सुरु गरेको शुम्भको भनाइ छ। 

सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक शम्भु सिप्रदीकै पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत हुन्। उनी विगत ३२ वर्षदेखि सिप्रदीमा आबद्ध छन्। उनलाई सफलताको शुभकामना दिँदै सोल्टी नेपाल क्लबले शनिबार सोल्टी होटलमा आयोजित कार्यक्रमबीच बिदाइ गरेको थियो।

मार्सल आर्ट्स पृष्ठभूमिका सोल्टी नेपाल क्लबका अध्यक्ष दमन बस्नेत, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनाल, काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे र क्लबका सदस्यले बिदाइ गरेका थिए।

कार्यक्रममा अध्यक्ष बस्नेतले पाको उमेरमा पनि फुल म्याराथनमा सहभागी हुन लागेका शम्भुको साहसको प्रशंसा गर्दै उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए। प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धरले पनि शम्भुको साहसको कदर गर्दै मानिसले चाहेको खण्डमा उमेर बाधक नहुने बताए।

प्रकाशित: २० आश्विन २०८१ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App