खेल

पदमपोखरीलाई जिल्ला लिग फुटबलको उपाधि

उपाधिका साथ पदमपोखरीका खेलाडी तथा अफिसियल।

मकवानपुरको बागमती गाउँपालिकाको सहिद स्मृति क्लवलाई स्तब्ध पार्दै हेटौंडाको पदमपोखरी युवा क्लवले जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको उपाधि भिडन्तमा पदमपोखरीले सहिद स्मृति क्लवलाई ३–१ ले हराएको हो। खेलको २४ मिनेटमै दिवश गोलेको गोलमार्फत पदमपोखरीले अग्रता लिएको थियो।

३९ औं मिनेटमा उप्रान्त आलेको उत्कृष्ट गोलमार्फत सहिद स्मृति खेलमा फर्किएको थियो। त्यसअघि आलेको पेनाल्टी प्रहारलाई पदमपोखरीका गोलरक्षक रोजक थिङले बचाएका थिए।

पहिलो हाफ एक/एक गोलको बराबरीमा सकिएकोमा पदमपोखरीले दोस्रो हाफमा २ गोल थपेको थियो। पदमपोखरीका विजेश तितुङले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाए।

अतिरिक्त समयको अन्तिम मिनेटमा पदमपोखरीका लागि विकी जिम्बाले निर्णायक गोल गरेका हुन्। खेलमा बागमती गाउँपालिका अभागी सावित भएको थियो।

बागमतीको ४ वटा प्रहार पोष्ट र बारमा लागेर फर्किएको थियो भने एउटा पेनाल्टीलाई सदुपयोग गर्न सकेन। पदमपोखरीले मनहरी गाउँपालिकाको हाँडीखोला यूथ क्लवलाई र सहिद स्मृतिले हेटौंडाको कम्बाइन क्लवलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

विजेता पदमपोखरीले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बागमतीले ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ। लिगको विजेता पदमपोखरीले बागमती प्रदेश लिग समेत खेल्नेछ।

लिगमा मकवानपुरका २८ वटा क्लवको सहभागिता रहेको थियो। भदौ १४ गतेबाट सञ्चालन भएको लिगमा ९१ खेल पश्चात उपाधि विजेताको टुङ्गो लागेको हो। फाइनल खेलको म्यान अफ द म्याच पदमपोखरीका विजेश तितुङ घोषित भए।

विधागत पुरस्कारमा समेत पदमपोखरीकै वर्चश्व रह्यो। पदमपोखरीका रोजक थिङ उत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा नमराज थिङ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भए।

बागमतीका अरुण आले उत्कृष्ट डिफेण्डर र उप्रान्त आले उत्कृष्ट फरवार्ड घोषित भए। प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक युवराज लामा लगायतले पुरस्कार वितरण गरेका हुन्।

असोज १२ गते हुनुपर्ने लिगको फाइनल अविरल वर्षा र एन्फा एकेडेमी सिस्नेरी मकवानपुरका ६ जना युवा फुटबल खेलाडीको निधनका कारण स्थगित भएको थियो। प्रत्येक वर्ष हुनुपर्ने लिग ५ वर्षपछि आयोजना भएको हो। यसअघि २०७६ सालमा लिगको आयोजना भएको थियो।

प्रकाशित: १९ आश्विन २०८१ १९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App