खेल

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आजदेखि, नेपालले सुखद प्रदर्शन गर्ने अपेक्षा

नेपालले पहिलोपल्ट घरेलु भूमिमा हुन लागेको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सुखद प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

आजदेखि दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंमा सुरु हुँदै छ। उक्त सेभेन्स ट्रफीमा नेपालका महिला र पुरुष टोलीले पहिलोपल्ट घरेलु भूमिमै हुने एसियाली प्रतिस्पर्धामा सुखद प्रदर्शन गर्ने अपेक्षासहित उत्रने विश्वास गरिएको छ।

नेपाली टोलीले प्रदर्शन सुधार गर्ने लक्ष्यसहित लामो समयदेखि तयारी पनि गरेको छ। विदेशी प्रशिक्षक र तीन महिनादेखि नेपालका टोलीले पोखरामा विशेष प्रशिक्षण गरेको थियो। दुवै टोलीमा अनुभवी र प्रतिभावान् युवा खेलाडी पनि छन्। तर, पुरुष टोलीमा यसअघिका कप्तान कृष्ण क्षेत्री र महत्त्वपूर्ण खेलाडी श्रीराम श्रेष्ठ टोलीमा छैनन्। यद्यपि, नयाँ कप्तान र प्रतिभावान् युवा खेलाडीको साथमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपालका पुरुष र महिला टोलीले यसअघि चारपल्ट एसिया रग्बी सेभेन्समा प्रतिस्पर्धा गरिसकेका छन्। घरेलु भूमिमा भने पहिलोपल्ट खेल्न लागेको हो। त्यसैले सिर्जना राईको कप्तानीमा रहेको नेपाली टोली र विक्रम पुरीको कप्तानीमा रहेको पुरुष टोलीले यसपल्ट घरेलु भूमिमा सुखद प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। सेभेन्स ट्रफीलाई विशेष बनाउन नेपाली टोलीले करिब तीन महिनादेखि बन्द प्रशिक्षणसमेत गरेको छ। न्युजिल्यान्डका प्रशिक्षक फ्रेड मोएसँगै नेपालका पूर्वकप्तान तथा प्रशिक्षक कृष्ण क्षेत्री र विनोद तामाङले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए। नेपालमा तेस्रोपल्ट एसियाली स्तरको रग्बी प्रतियोगिता हुन लागेको हो।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो। शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। यस सेभेन्स ट्रफीमा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन्। पुरुषमा १४ र महिलामा सात राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन्। महिलामा आठ राष्ट्रको चुनौती तय थियो। आन्तरिक कारणले इरानको सहभागिता नभएको हो। इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो।

पुरुषतर्फ चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ भएको छ। नेपालको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तानले चुनौती प्रस्तुत गर्ने भएका छन्। समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरब र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं छन्। महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ। समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, श्रीलंका र इन्डोनेसियाले खेल्नेछन्। सेभेन्स ट्रफी खेल्ने सबै राष्ट्र नेपाल आइसकेको संघका महासचिव घिमिरेले जानकारी दिए।

सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोटसमेत हो। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भव्य बनाउन सरोकारवालाई अनुरोध पनि गरेका छन्। उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिब ४ चार महिनाको तयारी गरेको उल्लेख गर्दै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए।

प्रकाशित: १८ आश्विन २०८१ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App