खेल

उपत्यकाव्यापी कराते प्रतियोगितामा भक्तपुर टिम च्याम्पियन

भक्तपुर डोजोले पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै भक्तपुर टिम च्याम्पियन बन्यो ।

विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा बिहीबार भएको प्रतियोगितामा ३ स्वर्ण, ७ रजत र ३ कांस्यसाथ नग्देश डोजो दोश्रो भयो । तेश्रो स्थानको बूढानीलकण्ठ डोजोले ३ स्वर्ण, २ रजत र ५ कांस्य हात पार्‍यो ।

भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुरका अभिषेक तामाङ तथा महिलामा नग्देशकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा विद्या आर्जनका रोजित कासुला तथा महिलामा माउन्ट भ्यालीकी सुजिता तामाङ उदीयमान खेलाडी चुनिए । भौखेल डोजोले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, आयोजक डोजोका प्रमुख एवं अध्यक्ष सूर्यबहादुर तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ, १० औं सागका कांस्य विजेता रामशरण त्वातीलगायतलाई सम्मान गरिएको थियो । प्रतियोगितामा करिब २ सय खेलाडीले एकल काता र कुमुतेसहित विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित: १७ आश्विन २०८१ १९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App