खेल

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

धनगढी – कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले लगातार चौंथो हार ब्यहोरेको छ। योसँगै रुपन्देहीको प्लेअफ यात्रामा ठूलो धक्का लागेको छ।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा शक्ति गाैचन कप्तान रहेकाे रुपन्देही च्यालेन्जर्सलाई बिनाेद भण्डारी कप्तान रहेकाे महेन्द्रनगर युनाइटेडले ४ विकेटले हरायो। अघिल्ला ३ खेलमा हार ब्यहोर्दै प्ले अफमा पुग्ने सम्भावना कठिन बनाएको रुपन्देहीले यो हारसँगै अघिल्लो चरणको सम्भावना समाप्त गर्यो।

रुपन्देही च्यालेन्जर्सले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगर युनाइटेडले १८.५ ओभरमा ६ विकेको क्षतिमा लक्ष्य पूरा गर्यो। महेन्द्रनगरका लागि कप्तान बिनोद भण्डारीले अर्धसतक प्रहार गरे। भण्डारीले ६१ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे। उनी दिपेश श्रेष्ठको बलमा क्याच आउट भए। पुनित बिष्टले २२ बलमा ३ चौका र ४ छक्काको सहायतामा ४५ रन जोडे। त्यस्तै पुनित मेहराले नटआउट १६ र रोहीत कुमार पौडेलले ७ रन जोडे।

रुपन्देहीका दिपेश श्रेष्ठले ३, सुसान भारीले २ र सागर पुनले १ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्। जितसँगै महेन्द्रनगर युनाइटेडको अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो भएको छ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। रुपन्देहीका लागि प्रदीप ऐरीले सर्वाधिक ३९ रन जोडे। सागर पुन २८, दिपक प्रसाद १७, कुशल मल्ल १५, सुफयान मेहमुद तथा अमर रौटेला र सुसान भारीले समान ९ रन जोडे।

बलिङतर्फ महेन्द्रनगरका पुनित विष्टले ४ विकेट लिए। त्यस्तै भुवन कार्की, पुनित मेहरा, अभिनाश कर्ण र करण केसीले समान १–१ विकेट चडकाए।  खेलको म्यान अफ दि म्याच महेन्द्रनगरका पुनित बिष्ट भए।

प्रकाशित: २२ चैत्र २०७४ ११:१४ बिहीबार

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त